काठमाडौं । अहिले बजारमा उपलब्ध दुई स्पोर्टी कम्यूटर मोटरसाइकलमा टीभीएस र बजाजले राम्रो बजार पाइरहेका छन् । टीभीएस रेडर १२५ र एनएस १२५ दुबै यो सेग्मेन्टमा उपलब्ध कम बजेटका सफल मोडल हुन् ।
यी दुबै मोडल अहिले नेपालमै एसेम्बल भएर बजारमा उपलब्ध छन् । त्यही कारण पनि अन्य ब्राण्डको तुलनामा यी दुईको मूल्य तुलनात्मक रुपमा कम रहेको छ ।
सफलतासँगै हामीले दुई ब्राण्डका १२५ सीसी सेग्मेन्टमा रहेका टीभीएस रेडर १२५ र बजाज एनएस १२५ बीच तुलनात्मक रुपमा भिन्नता केलाउने प्रयास गरेका छौं ।
लुक्स
दुबै मोटरसाइकल नेकेड स्पोर्टस् डिजाइनमा तयार भएको हुनाले निकै आकर्षक छन् । युनिक स्पोर्टी स्टाइलिङ थ्री टोन कलरमा रहेको रेडरमा स्पीलीट सीट, इन्जिन कभर, सिग्नेचर डिआरएलले निकै आकर्षक बनाएको छ ।
निकै स्मार्ट डिजाइनमा तयार भएको एनएस १२५ मा मस्कुलर प्युल ट्याकं, स्लीक हेडल्याम्प, स्पोर्टी स्प्लीट सीट र थ्रीडी पल्सर ब्रान्डिङ छ, त्यसले लुक्स आकर्षक बनाउँछ ।
इन्जिन
टीभीएस रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, थ्री भल्ब एयर र आयलकूल्ड, कार्बोरेटर इन्जिन छ । उक्त इन्जिनले अधिकतम १२.९ ब्रेकहर्स पावर र ११.५ एनएमको टर्क जेनेरेट गर्छ ।
बजाज एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, एयरकूल्ड, एसआएचसी, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम १२ बे्रकहर्स पावर र ११ एनएमको टर्क उत्पन्न गर्छ ।
दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स, सेल्फ स्टार्ट र किक स्टार्ट दिइएको छ ।
सस्पेन्सन र ब्रेक
दुई मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क सस्पेन्सन छ । पछाडि एनएसमा मोनोशक एब्जर्बर र रेडरको एड्जस्टेवल मोनोसक सस्पेन्सन रहेको छ । दुबै मोटरसाइकलमा अलोय ह्वील, ट्युबलेस टायर अगाडिको टायरमा डिस्कब्रेक र पछाडि ड्रमब्रेक पाउन सकिन्छ ।
टीभीएसमा स्ट्यान्डर्ड ब्रेकिङ सिस्टम र एनएसमा सीबीएस ब्रेकिङ सिस्टम दिइएको छ ।
फिचर
एग्रेसिभ मस्कुलर डिजाइनमा रहेको एनएस १२५ मा हेलोजन हेडल्याम्प र एलइडी टेलल्याम्प रहेको छ । पेरीमिटर फ्रेम, इन्जिन काउल, क्लीप अन ह्यान्डलबार र एनालग डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर छन् ।
त्यस्तै युनिक स्पोर्टी डिजाइनमा रहेको टीभीएस रेडरमा एलइडी हेडल्याम्पका साथै एलइडी टेलल्याम्प रहेको छ । फुल डिजिटल मिटर, मल्टि इन्फर्मेसन डिस्प्ले, वान टच स्टार्ट सिस्टम, युएसबी चार्जिङ पोर्ट, वीन्डर स्प्लीट सीट र अन्डर सीट स्टोरेज जस्ता फिचर छन् ।
माइलेज र पर्फमेन्स
कम्पनीले एनएसमा १२ लिटरको फ्युल ट्याकं दिएको छ भने रेडरमा १० लिटरको दिएको छ । दुबै मोटरसाइकलको माइलेज कम्पनीले बताए अनुसार ४० देखि ४५ किलोमिटर प्रति लिटर पाउन सकिन्छ ।
एनएस १२५को टप स्पीड ११८ किलोमिटर प्रतिघण्टा र रेडरको १०० किलोमिटर प्रतिघण्टा रहेको छ । टप स्पीडमा एनएस केहि अगाडि छ ।
मूल्य
यी दुई मोटरसाइकलको मूल्यमा केहि फरक पाउन सकिन्छ । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा निकै सफल रहेको रेडरको २ लाख ६६ हजार ९०० रुपैयाँ मूल्यमा जगदम्बा माटर्सले बिक्री गरिरहेको छ ।
बजाजको आधिकारिक विके्रता हन्सराज हुलासचन्द एण्ड कम्पनीले एनएस १२५ को मूल्य २ लाख ८७ हजार ९०० रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ ।

