केवाइसी भ्यान ७०० किलोमिटर चलाएर हेर्दा

काठमाडौं । विगतमा प्यासेन्जर सेग्मेन्टका कार तथा एसयूभीहरुको टेष्ट ड्राइभ हामीले तपाईहरु माझ साझा गर्दै आएका थियौं । यसपटक अल्ली अलग र पृथक ड्राइभिङ अनुभव गर्ने जमर्को हामीले गर्यौं ।

अहिले लाइट कमर्शियल सेग्मेन्टमा निकै चर्चित केवाइसी भ्यानलाई काठमाडौं–जनकपुर–सिराहा–जनकपुर–हेटौंडा हुँदै काठमाडौंसम्मको यात्रामा हामीले चलाएर हेरेका थियौं । उक्त यात्रा ७०० किलोमिटर हाराहारी थियो ।

लाइट कमर्शियलमा निकै कम लागतमा प्रतिकिलोमिटर यात्रा हुने भएको कारण धेरै स्वरोजगार युवाहरु र ब्यवसायीक रुपमा यातायात क्षेत्रमा लागेकाहरुले विद्युतीय भ्यान खरिद गर्ने गरेको पाइयो । यसरी रुटमा चल्ने माइक्रो भ्यानहरु औषतमा मासिक १२ हजार किलोमिटर गुड्ने गरेको बाटोमा भेटिने चालकहरुले बताएका छन् ।

वार्षिक १ लाख ४० हजार किलोमिटर माथि गुड्ने भएको कारण धेरै चालकले राम्रो आम्दानी हुने गरेको बताए । सिन्धुली बसपार्कमा हामीले लगेको भ्यान रिचार्ज गर्ने समयमा भेटिएका डाँफे भ्यानका चालक इन्द्र तामाङले एक वर्षभन्दा कम समयमा आफुले १ लाख ४० हजार किलोमिटर भ्यान चलाएको बताए ।

त्यसैगरी हेटौंडामा भेटिएका चन्द्रमान गुरुङले केवाइसी भ्यान १० महिनामा नै १ लाख ३० हजार किलोमिटर गुडाएको बताए । उनले भने, ‘मेरो गाडी अधिकांश समय बिरगंजबाट नारायणगढ चल्छ । यात्रु पनि पाइने र चलाउँदा पेट्रोल खर्च पनि बच्ने भएको कारण आम्दानी पनि राम्रो छ ।’

आफ्नै अनुभव

गाडीमा मेरोअटोबाट दुई जना थियौं । म र साथी उज्वल घिमिरे । ललितपूरको हात्तीबनबाट उज्वलले अघिल्लो दिन नै काठमाडौंको थली घरमा भ्यान लगेका थिए । कुनै पनि किसिमको गाडी चलाउदा निकै आनन्द लिने उनले काठमाडौंदेखि धुलिखेल–मुलकोट–सिन्धुलीगढी हुँदै सिन्धुली बसपार्कसम्म गाडी चलाएका थिए ।

अझ मैले भन्नै विर्सेछु, गाडीमा हामी बाहेक अन्य ७ जना प्यासेन्जर पनि थिए । अधिकांश प्यासेन्जर हाम्रै आफ्नै चिनेजानेका थिए । उनिहरुको लक्ष्य थियो, जनकपुरमा रहेको जानकी मन्दीर दर्शन गर्ने । साथमा सिराहा पुग्ने एक जना आफन्त पनि हुनुहुन्थ्यो ।

टेष्ट ड्राइभ गाडीमा यति धेरै प्यासेन्जर किन भन्ने तपाईको मनमा लाग्न सक्छ, ट्राफिक प्रहरीले त झन्, कालो नम्बर प्लेट नभएको गाडीमा किन यति धेरै मानिस भनेर दुई ठाँउमा प्रश्न गरेका थिए । हामी लोडसहित टेष्ट ड्राइभ गर्न चान्थ्यौं । त्यसैले आफन्तहरुलाई नै प्यासेन्जर बनाएका थियौं ।

यसलाई ७०० किलोमिटर चलाउँदा कहिँ कतै माइक्रो भ्यान चलाएको अनुभव भएन । रेगुलर जस्तै एसयूभी चलाउँदा लिन सकिने अनुभव लिएर काठमाडौं फकिर्यौ । यति चलाएपछि भन्न सकिन्छ कि केवाइसीको बिक्री आरामदायी र किफायती भएकै कारण चमत्कारीक भएको हो ।

अब कुरा गरौं रेन्जको

केवाएसी भ्यानले कम्तीमा १८० किलोमिटर रेन्ज दिने हाम्रो चलाईले देखायो । तर, रुटमा चलाउने चालकहरुको अनुसार २०० किलोमिटर रेन्ज दिन्छ भन्ने थियो । हामी टेष्ट ड्राइभमा थियौं । साथी उज्वलले काठमाडौंबाट ९० प्रतिशत चार्जको साथ यात्रा सुरु गरेका थिए । सिन्धुली बसपार्क पुग्दा गाडीमा १० प्रतिशत चार्ज बाँकी थियो ।

काठमाडौंको थलीबाट १५० किलोमिटरको दुरीमा सिन्धुली बसपार्क थियो । त्यति यात्रा गर्न ८० प्रतिशत चार्ज खर्च भयो । टेष्ट ड्राइभ भएका कारण गाडीमा भएको इको, नर्मल र स्पोर्टस् मोडको प्रयोग भरपुर भएको थियो । त्यसैले रेन्ज केही कम भयो होला । स्मुद ड्राइभमा भाडामा गाडी चलाउने चालकले पाएको रेन्ज ठिकै हो जस्तो लाग्यो ।

सिन्धुली बसपार्कबाट गाडी मैले चलाए । १०० प्रतिशत चार्ज थियो । इन्फर्मेसन डिस्प्लेमा ३०० किलोमिटर गुड्छ भनेर देखाएको थियो । त्यहि आधारमा कम्पनीले रेन्ज ३०० किलोमिटर दावी गर्दै आएको हो ।

सिन्धुलीबाट जनकपुरमा रहेको रामा होटलसम्मको ७२ किलोमिटर यात्रापछि यात्रुलाई त्यहि ओरालेर हामी सिरहाको चाेहर्वा लाग्यौ । गाडीमा ३ जना मात्रै थियौं । जनकपुरबाट चोहर्वासम्मको यात्रा ७३ किलोमिटर मिटर थियो । दुई तर्फी यात्रा १४६ किलोमिटर भयो ।

सिन्धुलीमा चार्जपछि गाडी २१८ किलोमिटर गुड्यो । राती ८ बजे जनकपुरको रामा होटलमा पुगेर चार्जमा जोड्दा गाडीमा २८ प्रतिशत चार्ज बाँकी नै थियो । गाडीमा लगेको ७ किलोवाटको चार्जरले ४ घन्टा ३० मिनेटमा फुल चार्ज भयो । विहान जनकपुरबाट फर्कन गाडीमा १०० प्रतिशत चार्ज थियो ।

फेरी, जनकपुरदेखि हेटौंडासम्मको समथर बाटोमा उज्वलले गाडी चलाउने सल्लाह भएको थियो । त्यहि अनुसार उनले गाडी चलाउन सुरु गरे । जनकपुरबाट १७० किलोमिटर यात्रा गर्दा गाडीमा १० प्रतिशत चार्ज थियो । सायद निकै तिब्र गतिमा गुढाएको कारण गाडीको रेन्ज कम आयो । उक्त बाटाेमा गति ८० किलाेमिटर प्रतिघण्टा हाराहारीमा रहेकाे थियाे ।

हेटौडामा फुल चार्ज गरेर हामीले काठमाडौंको यात्रा थाल्यौं । चालक सिटमा म थिए । साँझ पर्न लागेको थियो । हेटौंडा सिजी शोरुमबाट ९० किलोमिटर यात्रामा सातदोवाटो थियो । धेरैजसो भुभाग उकालो भएको कारण गाडी फुल चार्ज गरेर जान रुटमा गाडी चलाउने चालकहरुको सल्लाह अनुसार हामी हिडेका थियौं ।

सातदोबाटो आइपुग्दा गाडीमा ४० प्रतिशत चार्ज बाँकी नै थियो । यसरी हाम्रो ७०० किलोमिटर हाराहारी यात्रा काठमाडौं, सिन्धुली, जनकपुर र हेटौंडामा चार्ज गरेर पुरा भयो ।

टेक्नीकल डिटेल

केवाइसी भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । यसमा ५० किलोवाट पीकपावर भएको मोटर छ ।

गाडीले ५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जिवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ । चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ ।

यसको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । यसमा २९३० एमएम लामो ह्वीलवेस रहेको छ । यसको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलाेय ह्वील जस्ता फिचर छन् । यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 


Back_to_top