आजबाट भारतमा बिक्री सुरु भयो हुन्डाईको नयाँ सेन्ट्रो, नेपालमा कहिले ?

हुन्डाई इन्डियाले लामो समयपछि आफ्नो आइकोनिक हुन्डाई सेन्ट्रोको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ । निकै चर्चामा रहेको नयाँ सेन्ट्रो आधिकारीक रुपमा आज मंगलबारबाट बिक्री वितरण सुरु भएको हो ।

 

भारतमा हुन्डाई ब्रान्डले २० वर्ष पुरा गरेको अवसरमा कम्पनीले यो कारलाई पुनः बजारमा ल्याएको हो । सन् १९९८ मा पहिलोपटक भारतीय बजारमा सेन्ट्रो मार्फत हुन्डाईले आफ्नो उत्पादन सुरु गरेको थियो । २०१४ बाट वार्षिक ३० हजारभन्दा माथी कारको बिक्री हुँदा हुँदै उत्पादन बन्द गरेको कम्पनीले ४ वर्षपछि पुनः अल न्यू सेन्ट्रो बजारमा ल्याएको छ । 

टल ह्याचब्याक मोडलमा नै ल्याइएको नयाँ सेन्ट्रोमा स्वेप्टव्याक हेडल्याम्प दिइएको छ । नयाँ कारकोे लम्बाई ३६१० एमएम रहेको छ । जुन पुरानो सेन्ट्रोको भन्दा ४५ एमएम धेरै लामो बनाईएको छ । 

कम्पनीले अक्टोबर १० बाट बुकिङ सुरु गरेको थियो भने आजबाट आधिकारीक रुपमा दिल्लीमा सार्वजनिक गरिएको छ ।

नयाँ जेनेरेशन २०१८ हुन्डाई सेन्ट्रोले मारुती सुजुकी सेलेरियो र वेगनआर, टाटा टियागो तथा रेनो क्विड १.०सँग प्रतिस्पर्धा गर्नेछ  । हुन्डाईको नयाँ सेन्ट्रोमा १.१ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ६८ बीएचपी पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स जडान गरिएको छ ।

यस कारले १ लिटर पेट्रोल इन्जिनमा २०.३ किलोमिटर दुरी पार गर्ने क्षमता राख्छ भने कारको टप स्पीड १५६ किमी प्रतिघन्टा रहेको छ । नयाँ सेन्ट्रोको मूल्य भारतीय बजारमा  ३लाख ८९हजार ९ सय सुरूवाती मूल्य रहेको छ भने ५ लाख ४५ हजार ९ सय भारूसम्म रहेकाे छ । 

नेपालमा कहिले ?

भारतीय बजारमा आज सार्वजनिक भएसँगै नेपाली बजारमा पनि एक महिना भित्रै सेन्ट्रो सार्वजनिक हुने छ । नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सका अनुसार नयाँ सेन्ट्रो तिहार पछि नेपाली बजारमा आउने छ ।


Back_to_top