काठमाडौं । यातायात व्यवस्था विभागले आज (मंगलबार) देखि दैनिक २० हजार स्मार्ट सवारी चालक अनुमती पत्र (लाइसेन्स) छाप्ने भएको छ । विभागले आफ्नो मेसिन बिग्रिए पछि आउट सोर्समार्फत लाइसेन्स प्रिन्ट गर्ने लागेको हो ।
यातायात व्यवस्था विभागको स्वीकृती अनुसार मालिका इन्कर्पोरेटले ती लाइसेन्स छाप्नका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
मालीकासँग २० वटा प्रिन्टर रहेको रहेको र यसबाट कम्तिमा दैनिक २० हजारसम्म लाइसेन्स छापिने यातायात व्यवस्था विभागको दावी छ ।
यद्यपि यी लाइसेन्सको गुणस्तर पहिलेको जस्तो नहुने समेत बताइएको छ ।
विभागले लाइसेन्स छाप्दा लेजर इन्ग्रेभिङ (डढाएर अक्षर उठाउने) प्रविधि प्रयोग गरेको थियो भने मालिकाले थर्मल प्रिन्ट प्रविधिमार्फत छाप्ने भएको छ । यो प्रविधिबाट छापिएको लाइसेन्स अहिले बैंकहरूले बनाउने एटिएम कार्ड जस्तै हुनेछ ।
पहिलेको लेजर इन्ग्रेभिङ प्रविधिमा डढाएर अक्षर उठाउने भएकोले कुनै पनि हालतमा नउप्कने, नमेटिने हुन्थ्यो। तर, थर्मल प्रिन्ट प्रयोग गरेर लाइसेन्स प्रिन्ट गरेपछि गोजिमा राख्दा र झिक्दा कोरिएला, अक्षर मेटिएला कि भनेर प्लास्टिक कभरमा राखी दिन लागेको विभागको भनाइ छ ।


