धमाधम बन्द हुँदै कार र मोटरसाइकलका डिलर

काठमाडौं । कोभिड १९ संक्रमणको समयमा पनि टिकेका अटोमोबाइल बिक्री गर्ने डिलरहरू अहिले धमाधम बन्द हुन थालेका छन् । डलर संचिति घटेको भन्दै सरकारले २०७९ वैशाखदेखि पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लगाएपछि क्रमिक रूपमा डिलरहरू बन्द हुँदै गएका हुन् ।

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अनुसार झण्डै १० महिना चलेको आयात प्रतिबन्धमा देशभर ५ दर्जन हाराहारीमा डिलरहरू बन्द भएका थिए । त्यतिबेला बचेका दुई पाङ्ग्रे सवारीसाधनका डिलरहरू अहिले धमाधम बन्द भइरहेका छन् ।

‘मोटरसाइकलको बिक्रीमा उच्च गिरावट आउँदा डिलरहरू बाँच्न सक्ने अवस्था रहेन । त्यसैले धमाधम बन्द गर्नुको विकल्प भएन । लगानी थप्दै डिलर बचाउने कुरामा पनि आधिकारिक बिक्रेताले सहयोग गरेका छैनन् । त्यसले लगानी थप्ने नगर्दा आँट आएन,’ चितवनका एक मोटरसाइकल बिक्रेताले भने ।

पछिल्ला दिनमा पेट्रोल कार मात्रै बिक्री गर्ने कम्पनीका डिलरको अवस्था पनि त्यस्तै छ । उनीहरूले गाडी बिक्री हुनै छाडेको र आधिकारीक बिक्रेताले सहयोग नगरेको कारण डिलर बचाउन नसकिएको डिलरहरू बताउँछन् । यो विषय पुस २० गते काठमाडौंमा सम्पन्न नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको साधारण सभामा पनि उठेको थियो ।

‘हामीले गाडी बिक्री गर्दासम्म ठूलो जोखिम लिएर आधिकारिक बिक्रेतासँग किनेर ल्याएर राख्नुपर्ने । तर, हामीलाई अफ्ठ्यारो पर्दा आयातकर्ताले कुनै पनि किसिमको राहत दिनु नपर्ने । बरु उल्टै केही तिर्नु पर्ने रकमको बैंक ग्यारेन्टी दाबी गरेर डिलरलाई थुनाउने अवस्था आएको छ,’ काठमाडौंका एक कार डिलरका संचालकले भने ।

अहिलेको अवस्थाले आयातकर्ता र बिक्रेता बीच निकै ठूलो व्यवसायिक खाडल बनेको देखिन्छ । लामो समय डिलर लिएर काम गर्दै आएका र अहिले आफैँ नयाँ ब्राण्ड ल्याएर बिक्री सुरू गर्ने तयारीमा रहेका जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको बुझाइ अलि फरक छ । उनी भन्छन्, ‘राम्रो हुँदा सबै राम्रो देखिने र समस्याको समयमा मलाई मात्रै समस्या परेको हो कि भन्ने बुझाइले थप समस्या आएको हुन सक्छ ।’

गेलालका अनुसार महँगो ब्याजदर, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको बिक्रीमा उच्च गिरावट र मोटरसाइकलको कारोबार पनि आधा कम भएसँगै डिलर समस्यामा आएका हुन् । यसले समग्र बजार, रोजगारी, उपभोक्ता र व्यवसायीलाई नै समस्या पारेको छ ।

लामो समयदेखि डिलर लिएर काम गर्दै आएका अर्का व्यवसायी महेश पाल भन्छन्, ‘हामीले गाडी बिक्री गर्ने हो । कठिन समयमा पनि आफ्नो पूँजी लगाएर काम गरेकै छौं । समस्याको अवस्थामा डिलर बचाउन आधिकारिक बिक्रेताले पनि केही प्याकेज त दिनु पर्ने हो कि । यदि समस्यामा साथ दिए, राम्रो हुँदा परिणाम अझ राम्रो आउन सक्छ ।’

अहिले मोटरसाइकल र गाडीको शोमरु बन्द गर्ने अवस्थामा पुगेका दर्जनौं व्यवसायी आफ्नो नाम उल्लेख गर्न चाहँदैनन् । उनीहरूले आफ्नो आधिकारिक बिक्रेतासँगको हिसाब किताब राफसाफ गर्न सकेका छैनन् ।

‘हामीले हिसाब फरफारक गर्न बाँकी छ । यदि अहिल्यै केही बोल्यो भने आर्थिक झमेलामा पर्ने निश्चित छ । त्यसैले आफ्नो आर्थिक लेनदेन सकेपछि डिलर छाड्ने योजना बनाएका छौं,’ अधिकांश डिलरको एउटै भनाइ छ ।

यसले अटोमोबाइल क्षेत्रमा एकपछि अर्को समस्या थपिँदै गएको प्रष्ट हुन्छ । बजार शिथिल हुनु, डिलर लिएकाहरूले पनि छिटो प्रतिफलको लागि सेयर र घरजग्गामा पैसा लगाउनु जस्ता कारण अहिले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना भएको देखिन्छ ।


Back_to_top