काठमाडौं । चिनियाँ कम्पनी एसएआईसी र विलिङ तथा अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा रहेको बाओजुन ब्राण्डको ‘यप प्लस’ मोडल बाहिर आएको छ । यसअघि बाओजुनले तीन ढोका भएको ‘यप’ मोडल उत्पादन गर्दै आएको थियो ।
कम्पनीले ‘यप प्लस’ मोडलमा ५ ढोका दिएको छ । यसलाई सन् २०२४ को पहिलो क्वाटरबाट चीनमा बिक्री सुरु गर्ने योजना बनाएको कम्पनीले ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा ल्याउने जानकारी बाहिर ल्याएको हो ।
टप स्पीडको मामलामा पनि ‘यप प्लस’ निकै राम्रो हुनेछ । यसको टप स्पीड १५० किलोमिटर प्रतिघन्टा रहने छ । झट्ट हेर्दा अफरोड एसयूभीको फिल दिने यप मोडल भने अघिल्लो वर्ष नै चीनमा बिक्री सुरु भएको थियो । त्यसको मूल्य ११ हजार ७८५ डलर रहेको छ ।
तर, यप प्लस मोडलको लम्बाई, चौडाई र उचाईसँगै ह्वीलवेस पनि लामो हुनेछ । यसमा रहने ब्याट्री साइजको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन । यसमा रहने ब्याट्रीले सीएटीएल रेन्ज अनुसार ४०१ किलोमिटर रहने बताइएको छ ।

करिब २१ हजार डलर हाराहारी मूल्य तोकेर बिक्री सुरु हुने अनुमान गरिएको नयाँ यप प्लस मोडल फिचर लोडेड भएर आउने छ ।
भारतमा एमजीले पनि यप प्लस मोडललाई आधार बनाएर नयाँ इलेक्ट्रीक एसयूभी उत्पादन भइरहेको समाचारहरु बाहिर आएका थिए । एमजी एसएआईसी ग्रुपको स्वामित्वमा रहेको कम्पनी हो । यसअघि विलिङ मिनीको वेसमा एमजीले कोमेट भारतमा उत्पादन गरेको थियो ।


