काठमाडौं । तपाईलाई थाहा छ, आजभन्दा २७ वर्ष अगाडि टोयोटाले र्याभफोर इलेक्ट्रीक एसयूभी बिक्री गरेको थियो । हो, सन् १९९७ मा कम्पनीले बजारमा ल्याएको र्याभफोर प्योर इलेक्ट्रीक एसयूभी थियो ।
कम्पनीले झण्डै ६ वर्ष र्याभफोर एसयूभी बिक्री गरेको थियो । टोयोटाले त्यसबेला र्याभफोर ईभीलाई ब्यक्तिगत प्रयोजनभन्दा पनि फ्लीटमा चलाउन धेरै बिक्री गरेको थियो । अहिले त्यहि मध्येको एउटा एसयूभी लिलाम बिक्रीमा आएको हो ।
सन् १९९७ मा बनेको र्याभफोर ईभी अहिले पनि ५ हजार १२० डलरमा लिलाम बिक्री भएको मोटोवान डटकमले उल्लेख गरेको छ । र्याभफोर एसयूभीले सिंगल चार्जमा १५३ किलोमिटर रेन्ज दिन्थ्यो ।
र्याभफोर इलेक्ट्रीक एसयूभीमा ९५ एम्पियरको २७.४ किलोवाट आवरको निकेल मेटल हाइड्राइड ब्याट्रीप्याक दिइएको थियो । यसमा इलेक्ट्रीक मोटरभने केबल ६७ हर्सपावर तथा १९० न्यूटन मिटर टर्क प्रदान गर्ने क्षमताको थियो ।
टोयोटाले सन् २००२ पछि केही यूनिट निजी प्रयोजनको लागि बिक्री गरेको थियो । अमेरिकाको क्यालिफोर्नियामा मात्रै बिक्री गरिएको र्याभफोर एसयूभी २ हजार २०० यूनिट फ्लीटमा र ३२८ वटा व्यक्तिगत गरी कुल २ हजार ५२८ यूनिट बिक्री भएको थियो ।
त्यति वेला नै कम्पनीले र्याभफोर ईभीको मूल्य ४२ हजार डलर तोकेको थियो । त्यसमा क्यालिफोर्निया सरकारले ९ हजार अनुदान र आयकरमा अर्को ४ हजार डलर छुट दिए पछि २९ हजार डलरमा बिक्री गरिएको थियो ।

