१५० करोड लगानीमा होन्डाको प्लान्ट भैरहवामा, उत्पादन सुरु

काठमाडौं । होन्डाले नेपालमै उत्पादन सुरु गरेको छ । आजबाट सुरु भएको एसेम्बल प्लान्टमा पहिलो मोडल डिओ उत्पादन भएको हो ।

होन्डा मोटरसाइकलको मुख्य बिजनेश हेड मिनरु काटोले उक्त प्लान्टको उद्घाटन गरेका हुन् । होन्डाको नेपाल प्लान्ट शुभारम्भ कार्यक्रममा होन्डाका स्वदेशी तथा विदेशी प्रतिनिधिहरु उपस्थित थिए ।

हिमाल मोटो प्रालि नामक कम्पनीले एसेम्बल गर्ने होन्डाका मोटरसाइकल स्याकार ट्रडिङ प्रालिले बिक्री वितरण गर्नेछ । यी दुबै कम्पनी ज्योति ग्रुप अन्तर्गतका कम्पनी हुन् ।

रुपन्देहीको रोहिणी गाउँपालीका वडा नम्बर ४ मा रहेको उक्त प्लान्ट निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । १० विगाह जमिनमा फैलिएको उक्त प्लान्ट सुविधा सम्पन्न रहेको हिमाल मोटोले जनाएको छ ।

थुप्रै देशी विदेशी पाहुनाहरु बोलाएर कम्पनीले नयाँ प्लान्टको शुभारम्भ गरेको जनाएको छ । कार्यक्रममा होन्डा जापान, होन्डा इन्डिया लगायत लुम्बिनी प्रदेशका विभिन्न मन्त्री, ज्योति ग्रुपका अध्यक्ष पदम ज्योति, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले आधिकारीक रुपमा प्लान्टबाट उत्पादन भएको पहिलो मोडल कुन हो भन्ने नखुलाएपनि सार्वजनिक भएको तस्बिरमा देखिए अनुसार आफ्नो सफल मोडल डिओको एसेम्बल भएको अनुमान गर्न सकिन्छ ।


Back_to_top