निसानले घटायो इलेक्ट्रीक कारको मूल्य

काठमाडौं । विश्वभर बिद्युतीय कारको मूल्य कटौतीमा तिब्र प्रतिस्पर्धा चलिरहेको छ । उक्त प्रतिस्पर्धामा जापानीज कार ब्राण्ड निसान पनि सामेल भएको हो ।

विश्व बजारमा ईभीको उत्पादन बढ्ने र माग घट्ने भएसँगै अटोमोवाइल कम्पनीहरुले आफ्ना मोडलहरुको मूल्य घटाघट गरिरहेका छन् । अमेरिकी ईभी टेस्लादेखि चिनियाँ ब्राण्ड बीवाइडीसम्म मूल्य घटाउन प्रतिस्पर्धा गरिरहेको समयमा जापानी ब्राण्ड पनि उक्त प्रतिस्पर्धामा सामेल भएको हो ।

निसानले आफ्नो इलेक्ट्रीक क्रसओभर आरियाको मूल्य घटाएको हो । कम्पनीले आरियाको इन्ट्री लेभल आरियामा ३ हजार ५७५ अमेरिकी डलर मूल्य घटाएको हो । अब निसान आरिया इन्ट्री भेरियन्ट ३९ हजार ५९० डलरमा उपलब्ध हुनेछ ।

यूरोप र अमेरिकी बजारमा कम्पनीले बिक्री गर्दै आएको आरियाको इन्ट्री भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । यसमा ६३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

आरियाको अन्य भेरियन्टहरुमा ५ हजार ९७५ अमेरिकी डलरसम्मले मूल्य घटाएको छ । धेरै मूल्य घटाइएको आरिया अलह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । उक्त भेरियन्टमा ८७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ ।

निसानले फ्रन्ट ह्वील ड्राइभ सिस्टम भएको भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । अलह्वील ड्राइभमा रहेको संयुक्त मोटरको पावर ३८९ पीएस रहने छ ।


Back_to_top