५२ वर्षमा ५० लाख किलोमिटर चलेको कार

काठमाडौं । अहिले विश्वव्यापी रुपमा ईभीको चर्चा चलिरहेको छ । चार पाङ्ग्रे विद्युतीय कारहरुमा अधिकांश कम्पनीहरुले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिदै आएका छन् ।

ईभीको मुख्य कम्पोनेन्ट हाइभोल्टेज ब्याट्री परिवर्तन नगरी कति किलोमिटरसम्म गुड्न सक्छ भन्ने एकिन भएको छैन । किनकी ब्याट्री ईभीको इतिहास नै २ दशक हाराहारीको मात्रै छ ।

तर, परम्परागत ग्यासोलीन भेहिकल भने सयौ वर्षदेखि चलिरहेका छन् । यस्तोमा इन्जिन परिवर्तन नगरिकन सबैभन्दा धेरै रेन्ज दिने कार कुन कम्पनीले बनाएको थियो त भन्ने सबैमा कौतुहलता हुने गरेको पाइन्छ । विश्वमा कम्बस्चन इन्जिन कारले लाखौ किलोमिटर गुडेको इतिहास छ ।

स्वीडिस अटोमोवाइल कम्पनी भल्भोले ५२ वर्ष अगाडि बनाएको कार अहिलेसम्म पनि गुडिरहेका छन् । इभर गोडेनले सन् १९६६ मा किनेको भल्भोको ‘पी-१८०० एस’ मोडलको कार विश्वमा सबैभन्दा धेरै गुडेको कार भएको हो ।

कार खरिद गर्दा नै गोडेनले शुक्रबार किनेर मात्र ३ दिनमै २४ सय किलोमिटर गुुडाएर पहिलो सर्भिसिङ गरेका थिए । ५२ वर्ष अगाडि उनले आफ्नो एक वर्षको तलब ४ हजार १५० डलर खर्चिएर उनले कार किनेका थिए ।

उनले २५ वर्षको उमेरमा किनेको उक्त कारलाई ५ दशकसम्म सक्दो गुडाए । यस क्रममा उनले कति किलोमिटर गाडी गुडाए होला भन्ने जिज्ञासा आउन सक्छ । उनले पार गरेको दुरीले पृथ्वीलाई १२० पटक घुम्न पुग्छ । अझ रोचक चन्द्रमालाई ७ पटक राउण्ड ट्रिप गरे बराबर हो ।

उक्त भल्भो कारले ५० लाख ३० हजार ७८२ किलोमिटर दुरी पार गरेको थियो । यो नै विश्वमा सबैभन्दा धेरै गुडेको कार मानिन्छ ।

माध्यामिक स्कुलका शिक्षक इभर गोडेनले उक्त कारबाट दैनिक २०० किलोमिटर दूरीमा रहेको स्कुल आउ जाउ गरेका थिए । तर, ५२ वर्षमा ५० लाख किलोमिटर भन्दा धेरै गुडाउन उनको एभरेज ड्राइभ प्रतिदिन २७४ किलोमिटर रहेको देखिन्छ ।

कस्तो छ त यो कार ?

बेलायतमा विकास भएर सन् १९६३ देखि स्वीडेनमा बन्न थालेको भोल्भोको स्पोट्स कारमा १.८ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन प्रयोग भएको छ । यसले ११५ हर्सपवार तथा १४६ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध कारले १३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ । यसको टप स्पीड १७५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा रहेको ४ स्पीड गियरबक्स अहिलेसम्म कहिल्यै फेल भएन । कारको इन्जिन एक पटक १० लाख ८६ हजार किलोमिटरमा पूननिर्माण गरिएको थियो । तर, इन्जिन ब्लक भने अहिलेसम्म परिवर्तन गर्नु परेको छैन ।

५२ लाख किलोमिटर भन्दा धेरै दूरी पारगर्दा पनि कार कहिल्यै दुर्घटनामा परेको छैन । यसको रेगुलर मेन्टीनेन्स भने सधैँ चलिरहेको छ ।

उक्त कारमा अहिलेसम्म ओरिजीनल गियरवक्स नै प्रयोग भइरहेको छ । यसको ओरिजीनल इन्जिन पहिलाे पटक मेन्टिनेन्स अघि १० लाख ८६ हजार किलोमिटर गुड्दा क्लच  ७ लाख २४ हजार किलोमिटरमा फेरिएकाे थियो ।

५२ वर्षमा कारले ४ लाख ९२ हजार लिटर पेट्रोल, ३ हजार ५१५ लिटर लुब्रिकेन्ट, ९२८ वटा आयल फिल्टर, ५२० वटा स्पार्क प्लग तथा १८० वटा टायर खर्च गरेको बताइन्छ । ४ हजार १५० डलरमा खरिद गरेको कारमा गोडेनले १ लाख ८७ हजार डलरको पेट्रोल हालेका छन् ।

भल्भो प्रतिको यो लगावका कारण कम्पनीले इभर गोडेनलाई कम्पनीले सन् १९८७ र सन् २००२ मा २ वटा कार उपहारमा दिइसकेको छ ।


Back_to_top