गोगोरोको सेवाः उपभोक्तालाई सस्तोसँगै, चार्जिङको टेन्सन गायव

काठमाडौं । हिजो हामीले उपभोक्तामा विद्युतीय स्कुटर किन्ने आत्मविश्वास कमी हुनुका ५ कारण बारे उल्लेख गरेका थियौं । आज भने माथिका ५ समस्या समाधान गर्ने प्रोडक्टका बारेमा चर्चा गर्दैछौं । पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

दुई पाङ्ग्रे इलेक्ट्रीकमा माथिका समस्याको समाधान भनेको हालै नेपाल आएको र अन्तर्राष्ट्रिय बजारमा पनि चर्चामा रहेको ब्याट्री स्वापिङ टेक्नोलोजी हो । ताइवानी चर्चित ब्याट्री निर्माता कम्पनी गोगोरोले ब्याट्री स्वापिङ टेक्नोलोजीको विस्तार सुरु गरेको छ ।

गोगोरोले पहिलो पटक ताइवानमा २०१५ मा स्वापिङ स्टेशन निर्माण गरेको थियो । पछिल्लो समय गोगोरोले विभिन्न देशमा आफ्नो फुटप्रिन्ट छाडिसकेको छ । गोगोरसँग भारतीय उत्पादकहरु हिरो, होन्डा, यामाहा जस्ता कम्पनीहरूले सहकार्य समेत गर्ने भएका छन् ।

गोगोरो परम्परागत चार्जिङ पोर्टले ब्याट्री वा स्कुटरलाई चार्ज नगरेर एकै स्थानमा धेरै संख्यामा अत्याधुनिक एआई टेक्नोलोजीको प्रयोगले ब्याट्री चार्ज गर्छ । यसले ब्याट्री स्वाप मार्फत आफ्नो स्कुटरको ब्याट्री चार्ज गर्ने झन्झटबाट मुक्त गर्ने कार्य गर्दै आएको छ ।

सुरूवाति लगानी कम

माथि, उल्लेख गरिएको समस्याको पहिलो समाधान गोगोरोले गर्ने देखिन्छ । जति पनि इलेक्ट्रीक स्कुटरहरू बजारमा उपलब्ध छन, ती स्कुटरको मूल्यको लगभग आधा मूल्य ब्याट्रीको हो । गोगोरो ग्राहकलाई ब्याट्री विनाको स्कुटर उपलब्ध गराउने छ । यसले स्कुटरको सुरुवाती लागत निकै कम पर्ने हुन्छ ।

ब्याट्री फेर्ने झन्झटबाट मुक्ति

ब्याट्री बिनाको स्कुटर भएको कारण ग्राहकलाई केहि वर्षपछि ब्याट्री फेर्नु पर्छ भन्ने तनाब मुक्त भएर चलाउन सक्नेछन् । सामान्यतया अहिले नेपाली बजारमा उपलब्ध धेरै कम्पनीले २० हजार किलोमिटर वा २ वर्षको ब्याट्री वारेन्टी दिँदै आएका छन् । एथर, टेल्जी र ग्यारोले १ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी दिने घोषणा गरेका छन् ।

लाइफ साइकल कम हुने कारण ग्राहकहरूलाई ब्याट्री फेनु पर्ने र त्यसको लागि स्कुटरको आधा मूल्य नै पर्ने कारण स्कुटर किन्न डराउनेको लागि गोगोरेले उपयुक्त हुन्छ । ग्राहकले ब्याट्रीको स्वामित्व लिनु नपर्ने भएकाले ब्याट्रीको बारेमा सोच्नै पर्दैन ।

समय बचत

फास्ट चार्जिङ टेक्नोलोजीको इलेक्ट्रीक स्कुटर हो भने ब्याट्री चार्ज गर्न केही समय कम लाग्छ । तर, फास्ट चार्जिङमा पनि कम्तीमा ३० मिनेटको समय लाग्ने तथा सधै फास्ट चार्ज गर्दा ब्याट्री हेल्थमा समस्या आउने हुन सक्छ ।

यसको बिकल्पमा ग्राहकले गोगोरो ब्याट्री स्वाप स्टेशनको प्रयोग गर्ने हो भने, त्यहाँ १० सेकेन्डभन्दा कम समयमा नै ब्याट्री स्वाप गर्न सकिन्छ । अझ कम्पनीले त ६ सेकेन्डमै स्वाप गर्ने दावी गरेको छ ।

कसरी गर्छ गोगोरोले काम ?

गोगोरो एक प्रतिष्ठित ताइवानी कम्पनी हो । यसले आफ्नै प्यारामिटरहरू बनाएर काम गर्दै आएको छ । हालै मात्र नेपाल भित्रिएको गोगोरोले काठमाडौं भित्र हरेक २/३ किलोमिटर दूरीमा ब्याट्री स्वाप स्टेशन निर्माण गर्ने लक्ष्य लिएको छ । एटीएम मेशीन जत्रो साइजको स्वाप स्टेशन हाल काठमाडौंका दुई स्थानमा परिक्षण भइरहका छन् ।

हरेक पेट्रोलपम्मको रेसियोमा एक स्वाप स्टेशन स्थापनाको तयारी गरिहेको कम्पनीले स्कुटर बिक्री गर्नु अघिनै स्वाप स्टेशन निर्माणको काम गर्नेछ । ब्याट्री बिनाको स्कुटर बिक्री गर्ने भएका कारण पहिलानै स्वाप स्टेशन निर्माण अनिवार्य सर्त हो ।

गोगोरोका ग्राहकले स्कुटर किने पश्चात् गोगोरको स्वाप स्टेशनमा प्रयोग हुने ब्यालेन्स किन्नु पर्ने हुन्छ । यसरी लिइएको ब्यालेन्स ग्राहकले ब्याट्री प्रयोग गरे अनुसार घट्दै जानेछ ।

गोगोरोले ग्राहकसँग ब्याट्री स्वाप गरेको पैसा लिदैन । तर प्रयोग गरिएको ब्याट्रीको प्रतिशत वा स्कुटरको किलोमिटर अनुसार ब्यालेन्स कम गर्दै लैजान्छ । यो फोनमा डाटा प्याक किनेर इन्टरनेट चलाएको जस्तै हो । जसरी डाटा प्याक १ दिने ७ दिने वा महिनाको पनि हुन सक्छ । त्यसै गरी गोगोरोमा पनि विभिन्न स्कीममा व्यालेन्स रहेको हुन्छ । यो आफ्नो दैनिक प्रयोगको आधारमा खरिद गर्न सकिन्छ ।

अत्याधुनिक एआईसहितको प्रविधि

गोगोरोले स्वाप स्टेशनमा अत्याधुनिक एआईसहितको स्टेशन निर्माण गर्दै आएको छ । उक्त स्वाप स्टेशनले चालकको फ्लो हेरेर ब्यस्त हुने समयमा ब्याट्रीलाई फास्ट चार्ज गर्छ । अन्य रेगुलर समयमा स्लो चार्ज गर्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि विना शुल्क ब्याट्री स्वाप गर्न सक्नेछन् ।

ग्राहकले चार्ज भएको ब्याट्री लिएर स्कुटरमा राख्दा उक्त ब्याट्री र स्कुटर ‘सिंक्रोनाइज’ हुन्छ । यसले ग्राहकले प्रयोग गरेको ब्याट्री प्रतिशतको आधारमा ब्यालेन्स काट्ने काम गर्छ ।

सामान्यतया एक स्वाप स्टेशनमा ७ देखि ९ ब्याट्री तैयारी अवस्थामा हुन्छ । यसमा २ ब्याट्रीले भने ब्याकअप ब्याट्रीको रुपमा काम गर्छ । यसले बिजुली नभएको समयमा अन्य ब्याट्रीलाई चार्ज गर्ने काम पनि गर्छ ।


Back_to_top