इलेक्ट्रीक स्कुटर नबिक्नुका ५ कारण

काठमाडौं । सन् २०२३ मा नेपाल आएको इलेक्ट्रीक चार पाङ्ग्रे पेट्रोलियम पदार्थबाट चल्नेभन्दा झण्डै आधा बढि छ । दक्षिण एशियामै इलेक्ट्रीक चार पाङ्ग्रे सवारी सबैभन्दा छिटो अपनाइएको देशमा हामी पर्छौ ।

बिक्री संख्याका हिसाबले नेपाली अटोमोवाइल बजार सानो भएपनि मार्केट शेयरका हिसाबले ईभीको पेनिट्रेसन बढ्दै गएको छ । नेपाल बाहेक दक्षिण एशियाको अन्य देशमा इलेक्ट्रीक चार पाङ्ग्रेको ग्रोथ धेरै हुन सकेको छैन ।

तर, त्यसको ठिक विपरीत इलेक्ट्रीक दुई पाङ्ग्रेको ग्रोथ लगभग शून्य प्रायः छ । पछिल्लो दुई वर्षको भन्सार आयात तथ्याङ्क हेर्दा १ लाख २० हजार हाराहारीको दुई पाङ्ग्रे बजारमा ५ हजार हाराहारीमा मात्र इलेक्ट्रीक दुई पाङ्ग्रे आयात भएको छ । यो संख्या ५ प्रतिशतभन्दा पनि कम हो ।

नेपाल जस्तो कम आय भएको देशमा संचालन खर्च कम भएको इलेक्ट्रीक दुई पाङ्ग्रेको प्रयोग बढ्नु पर्नेमा ठिक विपरीत महँगा चार पाङ्ग्रेको प्रयोग बढ्दो छ । यस्तो हुनुका पछाडि रहेका केही कारण र यसको विकल्पका बारेमा यहाँ चर्चा गर्दैछौ ।

सुरुवाती लागत धेरै

इलेक्ट्रीक स्कुटर बिक्री नहुनुको मुख्य कारण मूल्य धेरै भएर हो । बजारमा २ लाख हाराहारीमा राम्रो पेट्रोलबाट चल्ने स्कुटर किन्न सकिन्छ । ठिकठाक इलेक्ट्रीक स्कुटरको मूल्य नै ३ लाख ५० हजारबाट सुरू हुन्छ । सुरुवातमै धेरै खर्च गर्नु पर्ने भएपछि मानिसले यसलाई रुचाएनन् ।

रेन्ज ‘एन्जाइटी’

महंगो मूल्य तिर्नु पर्ने तर, रेन्ज एकदमै कम आउने कारण चालकको कन्फिडेन्ट इलेक्ट्रीक स्कुटरमा आएको छैन । धेरै रेन्ज दिने स्कुटर किन्दा मूल्य अझै महंगो पर्ने भएका कारण नेपालमा १०० किलोमिटर हाराहारी रेन्ज भएका स्कुटर आइरहेका छन् ।

कम्पनीले १०० किलोमिटरको रेन्ज दावी गरेका स्कुटर सडकमा चलाउँदा ६० किलोमिटर रेन्ज पनि पाइँदैन । यसले गर्दा प्रयोगकर्तालाई इलेक्ट्रीक स्कुटरमा सिफ्ट हुन अझै कठिन भइरहेको छ ।

चार्ज गर्न समस्या

धेरैजसो इलेक्ट्रीक स्कुटरहरूको ब्याट्री झिकेर चार्ज गर्न नमिल्ने प्रकारका छन् । यसले कोठा भाडामा लिएर बस्ने मानिसहरूलाई ब्याट्री चार्ज गर्न नै समस्या हुन्छ । स्कुटर चार्जिङ गर्न मिल्ने स्टेशन पनि बनेका छैनन् ।

कम रेन्ज भएको स्कुटरलाई दैनिक दुई पटकसम्म चार्ज गर्न झन्झटीलो हुने गर्छ । ब्याट्री निकालेर चार्ज गर्दा पनि ५÷६ घण्टा समय लाग्छ ।

ब्रान्ड छान्नै गाह्रो

हाम्रो सानो बजारमा ५० भन्दा धेरै ब्रान्डले इलेक्ट्रीक दुई पाङ्ग्रे साधन बिक्री गरिरहेका छन् । यस्तोमा स्कुटर किन्न चाहाने ग्राहकले कुन स्कुटर राम्रो हो भनेर निर्णय गर्नै नसक्ने अवस्था छ ।

आजभन्दा १० वर्षअघि नै नेपालमा इलेक्ट्रीक स्कुटर आएको थियो । तर, ती ब्रान्डहरू भागेसँगै इलेक्ट्रीक ब्रान्ड प्रति ग्राहकको विश्वास बढ्न सकेको छैन । पछिल्लो समय ठूला ब्यापारिक घराना प्रवेश गरेका छन् । यसले बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

सर्भिस/वारेन्टी

च्याउ झै ब्रान्ड उपलब्ध भएसँगै ब्यापारीमा स्कुटर बेच्न होडबाजी जस्तै छ । तर, यस्ता कम्पनीहरूले स्कुटर बेच्नुको अलावा पार्टस तथा सर्भिस सेन्टर स्थापन गरेको देखिदैन । एकाध ब्रान्ड बाहेक सबैले सोरुममा नै स्कुटर सर्भिसको काम गर्ने गरेको पाइन्छ ।

यदि दुर्घटना भइहालेमा महिनौ कुर्दा पनि स्कुटर चल्ने हालतमा बन्दैन । पार्टस् पाइदैन । यसले पनि ग्राहकरू दुई पाङ्ग्रेमा आँट आइरहेको छैन ।


Back_to_top