काठमाडौं । बजेटले १० प्रतिशत कर वृद्धि गरेसँगै गाडीको मूल्य बढाउने तयारीमा आयातकर्ता कम्पनी देखिएका छन् । मूल्य समायोजन गर्न भन्दै केही कम्पनीले तयारी तिब्र बनाउँदै लगेका हुन् ।
मूल्य यहि साता बढ्ने अवस्था थियो । तर, बजारमा चल्तीका ब्राण्डले मूल्य बढाउँछन् वा बढाउँदैनन् भन्ने एकिन नहुँदा कम्पनीहरुले घोषणा गर्न सकेका छैनन् ।
‘मूल्य बढाउने तयारी धेरैले गरेका छन् । तर, अर्को प्रतिस्पर्धी ब्राण्डले के गर्छ भन्ने एकिन नहुँदा घोषणा नभएको हो । बढाउने रकम कति भन्ने विषयमा सबैले आन्तरिक छलफल र तयारी पुरा गरेका छन् । पहिलो मूल्य बढाउने अपजस कसले लिने भन्नेमा अलमल देखिन्छ’, एक गाडी आयातकर्ताले भने ।
अहिले बजारमा बीवाइडी, एमजी, सेरेस, टाटा, दिपाल र ओमोडा जस्ता ब्राण्ड बीच ईभीमा राम्रै प्रतिस्पर्धा चलिरहेको छ । यस्तोमा पहिला अरुले मूल्य बढाइदिए आफ्नो पनि घोषणा गरौला भनेर आयातकर्ता बसेको सहजै अनुमान लगाउन सकिन्छ ।
रोकियो बुकिङ
पुरानै मूल्यमा गाडीको बुकिङ रोकिन थालेको छ । बीवाइडीले डल्फीनको बुकिङ बन्द गरेको एक साता हुन लाग्यो । आधिकारीक बिक्रेता साइमेक्स इंकका अनुसार डल्फीनको आयात केही थोरै थियो । त्यसैले गाडी सकिने एकिन भएपछि बुकिङ बन्द गरिएको कम्पनीको भनाइ छ ।

‘हामीले बुकिङ गरेर बसेकालाई दिएर बाँकी रहने गाडीको संख्याको पनि नयाँ बुकिङ लिइसकेका छौं । अहिले हामीसँग भएको गाडीभन्दा बुकिङ धेरै भयो, त्यसैले बुकिङ रोकेका हौं’, साइमेक्स इंक स्रोतले भन्यो ।
डल्फीनको बुकिङ रोकेको साइमेक्सले एटो-थ्रीको भने बुकिङ लिइरहेको छ । कुनै कुनै कलर भनेको पाईदैन होला, नत्र एटो-थ्री पुरानै मूल्यमा पाउन सकिने कम्पनीको भनाइ छ ।
दिपलले पनि आफ्नो क्रसओभर मोडल एस-०७ को बुकिङ रोकेको छ । कम्पनीका अनुसार आयात भएका गाडी ग्राहकलाई दिन ठिक्क भएसँगै बुकिङ रोकिएको हो ।
ओमोडाले भने अहिले पनि बुकिङ लिइरहेको छ । कम्पनीसँग केही यूनिट ओमोडा ई-फाइभ बाँकी रहेको कारण बुकिङ लिइरहेको हो । सायद आगामी साताबाट बुकिङ रोकिन सक्ने कम्पनी स्रोतको भनाइ छ ।
२ देखि ३ लाख मूल्य बढाउने तयारी
आधिकारीक रुपमा कम्पनीहरुले घोषणा नगरेपनि अधिकांस ब्राण्डले २ देखि ३ लाख रुपैयाँसम्म मूल्य बढाउने तयारी गरिरहेका छन् । मार्केट लिडर भएको कारण बीवाइडीले कति मूल्य बढाउँछ, त्यहि अनुसार अन्य ब्राण्डले मूल्य चलाउने छन् ।
‘सुन्नमा आए अनुसार २ देखि ३ लाख मूल्य बढाउने गरी कम्पनीहरुले आन्तरिक तयारी गरेका छन् । हामी पनि मूल्य केही बढाउनु पर्छ भनेर कुरा गरिरहेका छौं । सायद त्यही हाराहारमा मूल्य बढ्छ होला’, अर्का आयातकर्ताले भने ।
टाटाले ईभीको मूल्य कति बढाउँछ भन्ने एकिन कुरा बाहिर आएको छैन । हुन्डाईले पनि आफ्नो प्रिमियम कार आयोनीक-फाइभको मूल्य बढाउने छ ।


