आई-१० को सुरुवाती मूल्य ३१ लाख ५६ हजार, आयोनीक-फाइभको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल कारको मूल्य निरन्तर बढ्दै गएको छ । हुन्डाईले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो मोडल आई-१० नियोसको सुरुवाती भेरियन्टको मूल्य नै ३१ लाख ५६ हजार पुगेको हो ।

हुन्डाईको इन्ट्री मोडल आई-१० नियोस विभिन्न ५ भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारीक बिक्रेता भएर बेच्दै आएको हुन्डाई आई-१० नियोसको ईरा भेरियन्टको मूल्य ३१ लाख ५६ हजार रुपैयाँ कायम गरेर बिक्री हुँदै आएको छ ।

आई-१० नियोसको ईरा भेरियन्टनै कम्पनीको सबैभन्दा कम मूल्यको कार हो । यसको ईरा लोडेड भेरियन्टको मूल्य ३१ लाख ९६ हजार, मग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार, मग्ना अटोमेटीकको मूल्य ३९ लाख ५६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अहिले हुन्डाईले आई २०, अउरा, एक्सटर, अउरा, भेन्यू, क्रेटा, टुसान, शान्ताफे, प्यालिसेड, आयोनीक-फाइभ र कोना जस्ता मोडल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने कोना र आयोनीक-फाइभ इलेक्ट्रीक क्रसओभर हुन् ।

बढ्यो आयोनीक-फाइभको मूल्य

हुन्डाईले आयोनीक-फाइभको मूल्यमा हल्का वृद्धि गरेको छ । बजेटले १० प्रतिशत कर वृद्धि गरेपनि कम्पनीले आयोनीक-फाइभको मूल्यमा १ लाख रुपैयाँले मात्रै वृद्धि गरेको हो ।

यसअघि १ करोड २ लाख ९६ हजार मूल्य रहेको आयोनीक-फाइभको नयाँ मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।


Back_to_top