काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्राले इलेक्ट्रीक थ्रीएक्सओ उत्पादन सुरु गर्ने भएको छ । यसअघि बिक्री गर्दै आएको एक्सयूभी ३०० लाई परिमार्जन गरेर बजारमा ल्याएको थ्रीएक्सओको पेट्रोल भर्सन अघिल्लो महिना सार्वजनिक भएको थियो ।
कम्पनीले आगामी नोभेम्बर महिनाबाट इलेक्ट्रीक थ्रीएक्सओ मोडलको उत्पादन थाल्ने भएको हो । कम्पनीले हरेक महिना १५०० देखि २००० यूनिट इलेक्ट्रीक थ्रीएक्सओ उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।
बुकिङ खुल्ला भएको छोटो समयमा नै एक लाख यूनिट थ्रीएक्सओ मोडल बुकिङ गरेर पेट्रोलमा बलियो बनेको थ्रीएक्सओलाई इलेक्ट्रीकमा ल्याउने भएपछि धेरैको चासो देखिनु स्वभाविक हो ।
साइजको हिसावले टाटा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्ने थ्रीएक्सओ मोडलमा ब्याट्री साइज ३५ किलोवाट आवरको रहने बताइएको छ । कम्पनीले यसमा रहने मोटर पावरको विषयमा केही जानकारी बाहिर ल्याएको छैन ।
महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रीकभन्दा कम मूल्यमा बजारमा उपलब्ध हुने यो एसयूभीमा १०० किलोवाट भन्दा कम क्षमताको मोटर रहनेछ । सन् २०२५ को सुरुवातबाटै नेपाली बजारमा उपलब्ध हुन सक्ने थ्रीएक्सओ मोडलको मूल्य कति कायम हुन्छ एकिन भन्न सकिदैन । तर, ५२ लाख ५० हजार मूल्य रहेको एक्सयूभी ४०० भन्दा पक्कै कम हुनेछ ।


