काठमाडौं । टाटाकाे पन्च (ईभीसहित) भारतीय बजारमा सर्वाधिक बिक्री हुने कार बनेको छ । सन् २०२४ को जुन महिनामा मारुती स्वीफ्टलाई उछिन्दै पन्च ईभी सबैभन्दा धेरै बिक्री हुने कार बनेको हो ।
सार्वजनिक तथ्यांक अनुसार जुन महनिामा मात्रै टाटा पन्च १८ हजार २३८ युनिट बिक्री भएको छ । यो दोस्रो स्थानमा रहेको स्वीफ्टभन्दा १ हजार ८१६ युनिट धेरै हो । गत वर्ष जुनको तुलनामा यस वर्ष पन्चको बिक्री ६५.९६ प्रतिशत (७ हजार २४८ युनिट)ले बढेको छ ।
भारती बजारमा जुनमा मारुती स्वीफ्ट १६ हजार ४२२ युनिट बिक्री हुँदै दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा स्वीफ्टको बिक्री २.९३ प्रतिशतले मात्र बढेको छ ।
त्यसैगरी, हुन्डाई क्रेटा १६ हजार २९३ युनिट बिक्री भएको छ । गत वर्षको तुलनामा क्रेटाको बिक्री १२.७८ प्रतिशतले बढेको हो ।
जुनमा सर्वाधिक बिक्री हुने कारको सूचीको चौथौदेखि आठौं स्थानसम्म मारुतीका कारहरूले ओगटेका छन् । जसमा मारुती अर्टिगा १५ हजार ९०२ युनिट (चौथौ), मारुती बलेनो (१४ हजार ८९५ युनिट (पाँचौं), मारुती वागेनआर १३ हजार ७९० युनिट (छैटौं), मारुती डिजायर १३ हजार ४२१ युनिट (सातौं) र मारुती ब्रेजा १३ हजार १७२ युनिट (आठौं) स्थानमा रहेका छन् ।
त्यस्तै, महिन्द्रा स्कर्पीओ १२ हजार ३०७ युनिटसहित सर्वाधिक बिक्री हुने कारको सूचीमा नवौं स्थानमा छ । दशौं स्थानमा टाटाको नेक्सन ईभी १२ हजार ६६ युनिट बिक्री भएको छ । नेक्सनको बिक्री गत वर्षकोभन्दा यस वर्ष १ हजार ७६१ युनिटले घटेको छ ।
शीर्ष १० मा परेका नेक्सन ईभी र मारुती वागेनआर बाहेक अरू सबै कारको बिक्री बढेको छ ।
समग्रमा २०२४ को जुनमा शीर्ष १० मोडलको कारको बिक्री १८.३९ प्रतिशतले बढेको छ । २०२३ को जुनको तुलनामा यस वर्ष कार बिक्री २२ हजार ७५९ युनिटले बढेर १ लाख ४६ हजार ५०६ युनिट पुगेको छ ।


