काठमाडौं । कुनै समय ३० लाखसम्मको कारमा तिब्र प्रतिस्पर्धा हुने नेपाली बजारमा अहिले ६० देखि ८० लाख मूल्यका इलेक्ट्रीक गाडीको बीचमा कडा टक्कर हुने भएको छ । भोलिबाट सुरु हुने १६ औं संस्करणको नाडा अटो शोमा थुप्रै नयाँ मोडल सार्वजनिक गर्ने तयारी भइरहेको कारण प्रतिस्पर्धा तिब्र हुने देखिएको हो ।
अघिल्लो वर्षसम्म ६० देखि ८० लाख रुपैयाँको सेग्मेन्टमा बीवाइडी एटो-थ्री र हुन्डाई कोना मात्रै थिए । तर, त्यसपछि बजारमा आएका ओमोडा ई-५, दिपल एस-०७, जेको जे-६, लिप सी-१० जस्ता मोडलले बजारलाई तरङ्गित बनाउने देखिएको छ ।

अझैपनि स्मार्ट वान, जिकर एक्स, एक्सपेङ जी-६ जस्ता मोडल यहि सेग्मेन्टमा आउन सक्ने देखिएको छ । यदि यहि सेग्मेन्टमा यी ब्राण्डहरु प्रबेश गर्ने हो भने प्रतिस्पर्धा अझै रोचक हुन्छ । दिपलको एल-०७ पनि यहि सेग्मेन्टमा आउन लागेको हो ।
मोटर पावरमा अब्बल कारहरु आउँदै
सुरुमा मोटर पावर कम बनाएर ल्याएपनि अहिले कम्पनीहरु उत्पादकले सुरुमा घोषणा गरेको पावरमै गाडी ल्याउन थालेका छन् । त्यसको लागि पछिल्ला दिनमा नेपाल आएका गाडीको मोटर पावरले पनि त्यसलाई पुष्टि गर्छ ।

पछिल्ला दिनमा नेपाल आएका केई थ्री एक्स प्रो मा १२०, जेको जे-६ मा १२५ किलोवाटको मोटर छ । त्यस्तै जिकर एक्समा २०० किलोवाट, एक्सपेङ जी-६ मा १९० किलोवाट क्षमताको मोटर छ ।
त्यसैगरी लिप मोटर्सको सी-१० मा १६० किलोवाटको मोटर छ ।
कसको मूल्य कति ?
६० लाखभन्दा माथिको मूल्यमा बिक्री हुँदै आएको ओमोडा ई-५ को मूल्य ६२ लाख ४९ हजार रुपैयाँसम्म तोकिएको छ ।
बीवाइडी एटो-थ्री सुपेरियर मोडलको मूल्य ६७ लाख ९० हजार छ भने दिपल एल-०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

दिपलले एस-०७ को मूल्य ७४ लाख ९९ हजार तोकेर बिक्री गरिरहेको छ । जिकर, लीप र एक्सपेङले आफ्नो कारको मूल्य घोषणा गरेका छैनन् । यी कारको मूल्य कति आउँछ अझै हेर्न बाँकी छ ।


