काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड ट्राइम्फ इन्डियाले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यही सेप्टेम्बर १७ तारिक (असोज १ गते) मा ट्राइम्फ स्पीड ४०० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले नयाँ भेरियन्ट स्पीड ४०० को टिजर भिडियो समेत सार्वजनिक गरेको छ । कम्पनीले सोही भिडियो मार्फत १७ तारिकमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने घोषण गरेको हो ।
टिजरमा देखिए अनुसार, नयाँ भेरियन्ट स्पीडमा रेड ग्रे पेन्ट स्कीम, साइड काउलमा सिल्बर ब्याजिंग र फ्युल ट्याकंमा ट्रायम्फको लोगो रहेको देखिन्छ । कम्पनीले यसमा इन्भर्टेड फर्क र ग्यास चार्जड प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन प्रयोग गरेको छ ।
नयाँ स्पीड ४०० मा पूरा एलईडी लाइटिङ सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील, राइड बाय वायर थ्रोटल, ह्यान्डलबार, बार इन्ड मिरर, अफसेट फ्युल क्याप, र यूएसबी चार्जिङ पोर्ट रहेको छ ।
त्यस्तै, डिजिटल एनालग डिस्प्ले, फ्युल गेज मिटर, डिजिटल टेकोमिटर, गियर पोजिसन इन्डिकेटर, ट्रिप मिटर लगायतका फिचर र नयाँ कलर अप्सन यस भेरियन्टमा पाइने छ ।
ट्रायम्फ ४०० स्पीडमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ३९.५ ब्रेकहर्स पावर तथा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।


