काठमाडौं । यामाहाको बहुप्रतिक्षित मोटरसाइकल एक्सएसआर १५५ भारतीय बजारमा आउने भएको छ । कम्पनीले आगामी जनवरी हुने भारत मोबिलिटी एक्स्पोमा यामाहा एक्सएसआर १५५ प्रदर्शन गर्ने भएको हो ।
जनवरी १७ देखि सुरू हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा यामाहाले रेट्रो स्टाइल मोटरसाइकल प्रदर्शन गर्ने तयारी थालेको हो ।
तत्कालै भारतीय बजारमा यसको बिक्री सुरू गर्ने योजना भने नबनाएको कम्पनीले बताएको छ । ग्राहकको प्रतिक्रियाका लागि भने यो मोटरसाइकल प्रर्दशन गरिने बताइएको छ ।
थाइल्याण्डको स्पेसिफिकेसन भएको एमटी १५ बाट नयाँ एक्सएसआर १५५ को लागि चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोक, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ ।
यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४।७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पीड गियरबक्स दिइएको छ ।
ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लच जस्ता प्रिमियम फिचर यो बाइक उपलब्ध छ ।


