चीनले १ वर्षमै बेच्यो नेपालको जनसंख्याभन्दा धेरै गाडी

काठमाडौं । चीनले सन् २०२४ मा ३ करोड १२ लाख ८२ हजार गाडी बिक्री गरेकाे छ ।चीनले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा गरी उक्त संख्यामा गाडी बेचेको हो ।

सन् २०२३ को तुलनामा २०२४ मा चीनको गाडी बिक्री ३.७ प्रतिशतले वृद्धि भएको हो ।चीनले १ वर्षमा बिक्री गरेकाे गाडीको संख्या नेपालको कुल जनसंख्याभन्दा पनि धेरै हो । २०७८ को जनगणनाा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख जना छ ।

चीनले सन् २०२४ मा उत्पादन भएको कुल गाडीमध्ये ९९.५१ प्रतिशत बिक्री भएको हो । चाइना एशोसियसन अफ अटोमोबाइल म्यानुफ्याक्चरका अनुसार सन् २०२४ मा चीनमा ३ करोड १४ लाख ३६ हजार युनिट गाडी उत्पादन भएको थियो । तीमध्ये ३ करोड १२ लाख ८२ हजार युनिट बिक्री भएको हो । चीनमा गत वर्ष अघिल्लो वर्षको भन्दा ४.५ प्रतिशतले उत्पादन समेत वृद्धि भएको हो ।

चीनले बिक्री गरेको गाडीमा १ करोड २८ लाख ६६ हजार न्यू इनर्जी भेहिकल रहेको छ । चीनले बिक्री गरेकाे कुल गाडीमा न्यू इनर्जी भेहिकलको हिस्सा ४०.९ प्रतिशत पुगेको छ । यो हिस्सा गत वर्षको भन्दा करिब १० प्रतिशत अंकले बढेको हो । न्यू इनर्जी भेहिकलको बिक्रीमा ब्याट्री इलेक्ट्रीकको हिस्सा ६० प्रतिशत र प्लगइन भेहिकलको हिस्सा ४० प्रतिशत रहेको छ ।

त्यस्तै, चीनले गत वर्ष निर्यात बजारमा समेत उल्लेखनिय वृद्धि गरको छ । सन् २०२४ मा चीनमा बनेका ५८ लाख ५९ हजार युनिट गाडी विश्व बजारमा बिक्री भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १९.३ प्रतिशतले बढेको हो ।

निर्याततर्फ न्यू इनर्जी भेहिकलको संख्या १० लाख २८ हजार ४०० रहेको छ । यसमा ९ लाख ८७ हजार ब्याट्री इलेक्ट्रीक र २ लाख ९७ हजार प्लगइन हाइब्रिड रहेको छ ।

त्यस्तै, कुल निर्यातमा ४९ लाख ५५ हजार प्यासेन्जर कार तथा ९ लाख ४ हजार कमर्सियल भेहिकल निर्यात भएको हो ।

गत वर्ष सबैभन्दा धेरै चेरीले ११ लाख ४४ हजार गाडी निर्यात गरको छ । दोस्रोमा धेरै एसएआईसीले ९ लाख २९ हजार, तेस्रोमा चांगानले ५ लाख ३६ हजार चौथोमा जीलीले ५ लाख ३२ हजार र पाचौंमा ग्रेटवाल मोटरले ४ लाख ५३ हजार निर्यात गरको हो ।

बीवाइडीले गत वर्ष ४ लाख ३३ हजार युनिट निर्यात गरको थियो जुन अघिल्लो वर्षको भन्दा ७१.८ प्रतिशतले वृद्धि भएको हो ।


Back_to_top