काठमाडौं । टोयोटाले नेपाली रुपैयाँ १९ खर्व ६० अर्व रुपैयाँ (१४ विलियन अमेरिकी डलर) लागतमा हाइभोल्टेज ब्याट्री उत्पादन गर्ने प्लान्ट स्थापना गरेको छ ।
विश्व अटोमोवाइल बजारमा ईभीको लागि ‘लेटमेकर’ उपनाम पाएको टोयोटाले बनाएको ब्याट्री प्लान्टले निकै चर्चा पाएको छ । ‘अमेरिकाको नर्थ क्यारोलीना’मा बनाएको उक्त हाइ भोल्टेज ब्याट्री प्यान्टमा ईभी, हाइब्रिड र प्लगइन हाइब्रिड गाडीमा प्रयोग गर्ने मोडुल निर्माण हुनेछ ।
टोयोटाले आफ्नो नयाँ ब्याट्री प्लान्टबाट उत्पादन भएका ब्याट्री आगामी अप्रिलदेखि टोयोटा र लेक्ससका इलेक्ट्रीक भेहिकलमा प्रयोग हुनेछ । टोयोटाले जापान बाहिर स्थापना भएको पहिलो ‘इन हाउस’ ब्याट्री प्लान्ट हो ।
टोयोटाको नयाँ फ्याक्ट्रीमा १४ वटा एसेम्बली लाइन रहेको छ । जसमा १० वटा लाइनमा ईभीको लागि मोडुलहरु तयार हुन्छ । ब्याट्री र मोडुलहरु टोयोटाको जर्जटाउन केन्टुकीमा रहेको भेहिलक एसेम्बली प्लान्टमा सप्लाइ हुनेछ ।
टोयोटाको यो प्लान्टको बार्षिक उत्पादन क्षमता ३० गिगावाट आवर प्रति वर्ष रहेको छ । यसको सिधा हिसाव ७० किलोवाट आवरका ब्याट्री प्रयोग हुने ४ लाख युनिट कारलाई सजिलै सप्लाइ गर्न सक्नेछ ।
सन् २०२४ मा टोयोटाले विश्वभर करिब १ लाख ४० हजार युनिट ईभी बिक्री गरेको थियो । हालसम्म टोयोटाले अन्तर्राष्ट्रिय बजारमा दुई मोडलका ईभी मात्र बिक्री भइरहेका छन् । तर, कम्पनीले आगामी वर्षमा ५ देखि ७ नयाँ मोडलका ईभीहरु बजारमा ल्याउने योजना बनाएको छ ।


