भेन्टिलेटेड सिट भएका ५० लाखभन्दा कममै आउने तीन कार

काठमाडौं । पछिल्लो समयमा अटोमोबाइलमा नयाँ नयाँ फिचरहरूको प्रयोग बढ्दो छ । सवारी उत्पादक कम्पनीहरूले चालक र यात्रुहरूको सुविधाका लागि अत्याधुनिक फिचरहरूको प्रयोग बढाउँदै लगेका हुन् ।

अझ विगत २/३ वर्ष यता चिनियाँ न्यू इनर्जी अटोमोबाइल ब्राण्डहरूको बलियो उपस्थितिले गाडीमा हुने फिचरले ठूलो फड्को मारेको छ । विश्वव्यापी रूपमा फैलिँदै गएको चिनियाँ ब्राण्डको बजार विस्तारका कारण जापानी, युरोपियन, अमेरिकी तथा भारतीय अटो ब्राण्डहरूलाई पनि प्रतिस्पर्धी बन्न कारका फिचरहरूमा छिटोछिटो परिमार्जन गर्नु परिरहेको छ ।

केही वर्ष अघिसम्म पनि अटो उत्पादक कम्पनीहरूले आफ्नो गाडीमा हुने एयर कण्डिसन, रिभर्स क्यामरा, इन्फोटेन्मेन्ट स्क्रीन, एयरब्याग, पावर विण्डो जस्ता फिचरहरूलाई प्राथमिकताका साथ प्रचार गर्ने गर्थे । तर, अटोमोबाइलमा बढ्दो प्रविधिको प्रयोग र विकाससँगै यस्ता फिचरहरू सामान्य हुन थालेका छन् ।

आज हामीले यहाँ गर्मी मौसममा गाडी चलाउँदा एमदमै आवश्यक पर्ने नयाँ फिचरको बारेमा चर्चा गरेका छौं । जुन हो भेन्टिलेटेड सिट ।

गाडीमा एयर कन्डिसन तथा अटोमेटिक क्लाइमेट कन्ट्रोल हुनु सामान्य हुन थालेको छ । एयर कन्डिसनले गाडीको क्याबिनलाई चिस्याउने/तताउने काम गर्छ । जसले यात्रुलाई जाडोमा न्यायो र गर्मीमा चिसोपना प्रदान गर्छ ।

एसी चलाउँदा पनि गर्मीमा भने चालकलाई तातो नै अनुभव भइरहन्छ । सिट तात्ने हुँदा चालकको नितम्ब (चाक) र ढाडमा भने तातो नै भइरहन्छ । जसले गर्दा पसिना आउने, लगाएका कपडा भिजेर असहज हुने गर्छ । यिनै समस्या समाधनका आजकाल गाडीमा भेन्टिलेटेड सिटको प्रयोग हुन थालेको छ । जसले चालकलाई बस्दा शरीरमा पसिना आउने समस्याबाट मुक्त गराउँछ ।

प्रायःजसो महँगा तथा लग्जरी कारहरूमा मात्र पाइने यो फिचर आजकल बजेट कारमा समेत उपलब्ध हुन थालेको छ । नेपाली बजारमा उपलब्ध ५० लाख रुपैयाँभन्दा कमका बजेट कारमा पनि भेन्टिलेटेड सिट उपलब्ध छ । ती कारको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. डोङफेङ नामी ०१

नेपाली बजारमा पछिल्लो समय चर्चाको शिखरमा रहेको डोङफेङ नामी एक फिचर प्याक कार हो । नामीमा सेग्मेन्ट फस्ट धेरै लग्जरी फिचरहरू रहेको छ । ७० किलोवाटको मोटर तथा ३१.४ वा ४२.३ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहेको नामीमा अटोमेटिक पार्किको समेत सुविधा रहेको छ ।

प्रिमियम ह्याचब्याक साइजको यो कार आकर्षक डिजाइन, क्याबिन फिचर तथा नयाँ टेक्नलोजीका कारण राम्रो बजार पाइरहेको छ । डोङफेको नामी भेन्टीलेटेड सिट भएको सबैभन्दा कम मूल्यमा पाइने कार हो । यो इलेक्ट्रीक कारको ई२ र ई३ मोडलमा अगाडि चालक र प्यासेन्जर दुवै तर्फ भेन्टिलेटेड सिट रहेको छ । नामीको ई २ को मूल्य ३२.४९ लाख तथा ई ३ को मूल्य ३५.९९ लाख रुपैयाँ छ ।

२. टाटा पन्च ईभी

टाटा मोटर्सको माइक्रो एसयूभी टाटा पन्चमा धेरै थरीका एड्भान्स फिचरहरू रहेको छ । टाटा पन्चको ईभी नेपालका सबै बजारमा उत्तिकै चर्चा पाइरहेको मोडल हो । विशेषतः एसयूभी लुक्स, राम्रो ग्राउण्ड क्लियरेन्स तथा इन्डष्ट्री स्ट्याण्डर्ड सबै फिचरहरू रहेकाले टाटा पन्च युवा चालकहरूको रोजाइमा परेको छ ।

टाटा पन्च ईभीको इम्पावर्ड प्लस एमआरमा ४८ किलोवाटको मोटर तथा २५ किलोवाटको ब्याट्रीप्याक रहेको छ । त्यस्तै अर्को मोडल इम्पावर्ड प्लस एल आर भेरियन्टमा भने ९० किलोवाटको मोटर तथा ३५ किलोवाट अवारको ब्याट्रीप्याक पाउन सकिन्छ । टाटाले पन्च ईभीको इम्पावर्ड प्लस एमआर र एलआर भेरियन्टमा भेन्टिलेटेड सिट दिएको छ । टाटा पन्चको इम्पावर्ड प्लस एलआरको मूल्य ३४.९९ लाख तथा ३९.९९ लाख रुपैयाँ छ ।

३. टाटा नेक्सनके ३ ईभी

५० लाख भित्रै भेन्टिलेटेड सिट पाउन सकिने अर्को कार हो टाटाको नेक्नस के ३ ईभी । पछिल्लो समय फेस लिफ्ट डिजाइनमा नेपाल भित्रिएको नेक्सन के३ ईभीमा लेटेस्ट फिचरहरूको सूची लामो छ । अघिल्ला मोडलका नेक्सन ईभीमाभन्दा ठूलो साइजको ४५ किलोवाट अवारको ब्याट्रीप्याक रहेको नेक्नस के३ ईभीको रेन्ज पनि उल्लेखनीय रूपमा बढेको छ ।

नेक्सन के३ ईभीले रियर वर्डमा ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । नेक्सन के३ ईभीको अगाडि दुवै सिटमा भेन्टिलेटेड सिट रहेको छ । अहिले नेपालमा नेक्सन के३ ईभीको इप्पावडए प्लस भेरियन्ट मात्र उपलब्ध रहेको छ । कम्पनीले यो मोडलको मूल्य ४८.९९ लाख रुपैयाँ तोकेको छ ।


Back_to_top