अब धुलोमुक्त काठमाडौं, शुक्रबारबाट ५ वटा ब्रुमरको टेस्ट ड्राइभ

काठमाडौं । काठमाडौं महानगरपालीकाले ल्याएको ब्रुमर शुक्रबारदेखि सडकमा टेस्ट ड्राइभ गरिने भएको छ । महानगरपालिकाले ल्याएको ५ वटा ब्रुमर यही शुक्रबार रत्नपार्कबाट सडक सफाईमा निस्कने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 

हाल सबै ब्रुमरका पाटपुर्जा जडानका क्रममा रहेको उनले बताए । ब्रुमरहरु राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा राखिएको छ । 

सो ब्रुमरको प्रयोग विशेष गरी महानगरका मुख्य सडकमा गरिने छ । डंगोलका अनुसार पहिलो प्राथमिकतामा एयरपोर्ट, बानेश्वर, माइतीघर, चक्रपथ, महाराजगञ्ज, रानीपोखरीलगायतका क्षेत्रमा प्रयोग गरिने डंगोलले जानकारी दिए । 

यूरोपबाट ल्याइएको उक्त ब्रुमर नेपाली कम्पनी वेब्सले ठेक्का लिएर आयात गरेको हो । एउटा ब्रुमरले १ घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने क्षमता राख्छ । महानगरले दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्य सहित ब्रुमर ल्याएको प्रबक्ता डंगोलले जानकारी दिए । 

‘ब्रुमरको प्रयोग महानगरका प्रमुख र भित्री सडकहरुमा गरिने छ, यसको प्रयोगले धुलोमुक्त महानगरका सडक बनाउने छौँ,’ डंगोलले मेरोअटोसँग भने  । 

५ वटा ब्रुमर मध्ये ४ वटा १६ टन क्षमता बराबरका रहेको छ भने अर्को एउटा ६ टन क्षमताको रहेको छ । 

४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको महानगरले जानकारी दिएको छ । ५ वटा ब्रुमरको जम्ममा मूल्य ८ करोड ६६ लाख १२ हजार ४६० रुपैयाँ रहेको छ । 


Back_to_top