वैकल्पिक रुट मार्फत सडक संजालमा जोडियो रसुवा, साना सवारी चल्ने

काठमाडौं । बुधबारदेखि सडक सम्पर्क बिच्छेद भएको रसुवा पुनः सडक संजालमा जोडिएको छ ।

बुधबार आएको बाढीले बेत्रावती पुल बगाएसँगै रसुवासँग सडक सम्पर्क टुटेको थियो । तर, शुक्रबार साना सवारी संचालन हुन सक्ने गरी वैकल्पिक रुट संचालनमा ल्याइएको हो ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क रुट हुँदै बोगटीटार निस्केर कालिकास्थान-धुन्चे पुग्न सकिने व्यवस्था मिलाइएको हो ।

यो सडकमा नियमित रूपमाा सवारी नचल्ने भए पनि मर्मत गरी संचालनमा ल्याइएको हो । साँघुरो ग्रामीण सडक रहेकाले यस रुट हुँदै साना चारपाँग्रे सवारी मात्रै आउजाउ गर्न सक्नेछन् । यद्यपि, यो सडक कच्ची रहेकाले यात्रा गर्न भने केही असहज छ ।

नियमित काठमाडौं-त्रिशूली-बेत्रावती रुट हुँदै रसुवा जान भने अझै केही समय कुनुपर्नेछ । बाढीले बेत्रावतीको पक्की पुल बगाएकाले सो ठाउँमा बेलिब्रिज जडान गर्ने तयारी अगाडि बढाइएको छ । बेलिब्रिज जडान गर्न समय लागने भएकाले ठूला सवारी भने अझै रसुवा जान सक्ने छैनन् ।

बाढीले बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक पूरै क्षतिग्रस्त बगाएको छ । रसुवाभर करिब ४० किलोमिटर सकडमा क्षति पुगेको छ ।


Back_to_top