काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा अटो कुम्भमेला नाडा अटो शो जारी छ । मंगलबारदेखि सुरू भएको अठारौं संस्करणको नाडा अटो शोमा दुईपाँग्रे, प्यासेन्जर कार र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाएका छन् । अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा लगायत कम्पनीहरूको २०० बढी स्टल रहेका छन् ।
पहिलो दिन अटो शोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको थियो । तर, बुधबार भोटेकोशीमा बाढी आएपछि अवलोकनकर्ताको भीड केही पातलिएको थियो । तर, आजदेखि पुनः बाक्लिँदै गएको छ ।

अटो शोको चौथो दिनसम्म आइपुग्दा डेढदर्जन बढी नयाँ सवारी मोडल लन्च भइसकेका छन् । यो वर्ष नाडा मार्फत नेपालमा आधा दर्जन अटो ब्राण्ड भित्रिएका छन् । दुईपाँग्रे तर्फ नेपालमै उत्पादन भएको यात्रीसहित मिचे र भिडाले इन्ट्री गरे । चारपाँग्रेतर्फ चिनियाँ ब्राण्ड नेभो, एम–हिरो, ईपाइले पहिलोपटक सहभागिता जनाएका हुन् ।
एक्स्पोमा प्रमुख ब्राण्डहरू र केही नयाँ ब्राण्डको स्टलमा राम्रै भीड देखिन्छ । बजेट फ्रेण्डली र नयाँ लन्च भएका मोडलमा अवलोकर्ताको चासो देखिन्छ । साथै, कम्पनीहरूले दिएको आकर्षक छुटले पनि ग्राहकहरूको ध्यान तानेको देखिन्छ ।
नाडामार्फत नै नेपाल प्रवेश गरेको प्रिमियम एसयूभी नेभो क्यू ०५ मा अवलोकनकर्ताको उच्च आकर्षण देखिन्छ । यसको मूल्य, आकर्षक डिजाइन, आधुनिक फिचरले अटो शोमा जानेको ध्यान तानेको देखिन्छ । एमएडब्लू वृद्धिले नाडा अफरमा २ लाख छुट दिँदै नेभो क्यू ०५ म्याक्स भेरियन्ट ४६ लाख ९९ हजार र अल्ट्रा भेरियन्ट ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।
एमएडब्लूले नाडामा लन्च गरेको नामी बक्सको नयाँ भेरियन्ट र नाडा अघि लन्च गरेको नामी भिगोमा पनि अवलोकनकर्ता झुम्मिएका छन् । कम्पनीले भिगोको मूल्य एकैपटक ८ लाख घटाएको थियो । नाडामा ३७ लाखमै खरिद गर्न सक्नेछन् । त्यस्तै, नामी बक्स नाडा अफरमा २९ लाख ९९ हजारमै उपलब्ध गराएको छ । 
कम्पनीले अटोमा प्रदर्शनी गरेको प्लगइन हाइब्रिड एम हिरो–१ मा पनि बाक्लो भीड देखिन्छ । कम्पनीले बिक्रीका लागि खुला नगरेको भए पनि ४ वटा मोटर भएको शक्तिशाली गाडी हेर्नेको घुइँचो देखिन्छ ।
अटो शोमा सदवहार ब्राण्ड बीवाइडी र टाटाको स्टलमा पनि अवलोकर्ताको बाक्लो भीड देखिन्छ । बीवाइडीले नाडामा सनरुफ भएको एटो टु, ठूलो मोटरको सिलायन सेभेन र शार्क सिक्स पिकअप लन्च गरेको थियो । यीसँगै एटो वान, टु र थ्री पनि नजरमा परेको देखिन्छ ।

टाटाले नाडामा नेक्सन ईभीको फेसलिफ्ट सिएरा ईभी सार्वजनिक गरेको छ । सिएराको बिक्री मूल्य नतोकी बुकिङ खुलाएको छ । टाटाको माथिल्लो श्रेणीको ईभी भएकाले यसाबारे चासो राख्ने धेरै देखिन्छ । साथै, टाटाले आकर्षक छुट दिएकाले नयाँ लन्च भएको नेक्सन ईभी रिलोडेडसहित टिगायो ईभी र पन्च ईभीले पनि अवलोकर्ताको भीड देखिन्छ ।
एसपीजी अटोमोबाइल्सले नाडामा लन्च गरेको जेको जे फाइभको नयाँ भेरियन्टमा पनि उच्च आकर्षण देखिएको छ । मिनी रेन्ज रोभर भनेर चिनिने जे फाइभ प्रोमा कम्पनीले साढे ३ लाख छुट दिएको छ । जसले भ्यालू फर मनी एसयूभी खोज्नेहरूलाई तानिरहेको छ । नाडामा कम्पनीले जेफाइ प्रो ४७ लाख ९९ हजारमै उपलब्ध गराएको छ । साथै, कम्पनीले आइकार भी २३, ओमोडा ई फाइभ, जे सिक्स टीमा पनि आकर्षक छुट दिएकाले आकर्षित भएको देखिन्छ ।

गत नाइमामा लन्च भएको चेरी क्यूको स्टलमा पनि बाक्लो भीड देखिन्छ । सस्तो मूल्य, पृथक डिजाइन र प्रिमियम फिचरले यो कारमा धेरैको नजर परेको देखिन्छ । चेरी क्यूले नाइमामा जस्तै नाडामा पनि उत्साहजनक सहभागिता र राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

गत नाइममै लन्च भएको आर्कफक्स टी वानमा पनि अवलोकर्ताको आकर्षण देखिन्छ । लक्ष्मी मोटरहबले आर्कफक्सको सुरुआती मूल्य ३२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । प्रिमियम ब्राण्ड, आकर्षक मूल्य, र फिचरलोडेड भएका कारण यसमा आकर्षण देखिन्छ । त्यस्तै, मेड इन नेपाल अल न्यू भेन्युमा पनि आकर्षण देखिएको छ ।
मलेसियन ब्राण्ड प्रोटोनमा पनि अवलोकनकर्ताको राम्रै भीड देखिन्छ । जगदम्बा मोटर्सले गत साउन पहिलो साता बजारमा ल्याएको प्रोटोन इमास फाइभले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका प्रतिनिधहरू बताउँछन् । रियर ह्वील ड्राइभ, आधुनिक फिचर र मूल्यका कारण इमास फाइभ आकर्षण बन्न पुगेको देखिन्छ ।
यी बाहेक लीपमोटर, एमजी, वुलिङ, केई, ओरा, स्काइवेल लगायत ब्राण्डको स्टलमा पनि अवलोकनकर्ताको बाक्लो भीड देखिन्छ ।


