काठमाडौं । सरकारले चीनबाट नेपाल भित्रिन लागेका मालवाहक सहित अन्य सवारी साधन मुस्ताङको कोरला नाका हुँदै आयात गर्न अनुरोध गरेको छ ।
भन्सार विभागले एक विज्ञप्ति जारी गर्दै रसुवागढी, तातोपानी लगायतका नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधन विकल्पमा कोरला नाका हुँदै ल्याउन अनुरोध गरेको हो ।
विभागले व्यवसायी तथा चालकहरूलाई बाढीले क्षति नपुगेका चीनतिर रहेका आयात गर्नुपर्ने सामग्री कोरलाबाट ल्याउन भनेको हो ।
‘रसुवागढी, तातोपानी लगायतका नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधन, चालक तथा व्यवसायीहरूले हाल उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सम्भव भएसम्म मुस्ताङस्थित कोरला नाका प्रयोग गर्नुहुन अनुरोध गरिन्छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
बुधबार बिहान आएको बाढीले नेपाल र चीन दुवै तर्फको सडक कयौं किलोमिटर सडक र दर्जनौं पुल बगाएको छ । तत्कालै उक्त सडक संचालनमा आउन सक्ने सम्भावना नरहेकाले विभागले विकल्पमा कोरला नाका प्रयोग गर्न भनेको हो ।
विभागले कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा अन्य आवश्यक सहजीकरणमा विभागले काम गर्ने बताएको छ ।
कोरलाबाट आयात हुने सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालयले भन्सारका महानिर्देशक यमलाल भुसालको नेतृत्वमा हेल्प डेस्क स्थापना गरेको छ ।


