अमेरिकामा हुन्डाई ‘आयोनीक फाइभ’को मूल्यमा भारी कटौती

काठमाडौं । अहिले विश्वभर अमेरिकी ईभी बजारको चर्चा छ । सेप्टेम्बर अन्तिम दिनबाट ट्रम्प प्रशासनले ईभीमा दिदै आएको अनुदान हटाएसँगै अमेरिकी ईभी बजार समाचारको केन्द्रमा रहेको हो ।

त्यही बजारमा हुन्डाईले आफ्नो सफल क्रसओभर आयोनीक फाइभको मूल्यमा भारी कटौती गरेको छ । यसअघि सरकारले ७ हजार ५०० अमेरिकी डलर नगद अनुदान दिदै आएकोमा त्यो हटेसँगै हुन्डाईले ९ हजार ८०० अमेरिकी डलरले मूल्य कटौती गरेको हो । हुन्डाई मोटर अमेरिकाका अनुसार त्यहाँ रहेको प्लान्टको उत्पादन वृद्धि गर्ने र ईभीको ब्यापार बढाउने रणनीति अनुसार मूल्य घटाइएको हो ।

हुन्डाईले गत बुधबार मूल्य कटौतीको निर्णय लिएको थियो । नयाँ मूल्यसँगै आयोनीक फाइभ अमेरिकामा बिक्री हुने सबैभन्दा कम मूल्यको प्रिमियम विद्युतीय कार मोडल बनेको छ । मूल्य कटौतीसँगै धेरैले सन् २०२६ मा अमेरिकी बजारको लिडर ईभी आयोनीक फाइभ बन्न सक्ने अनुमान गरेका छन् ।

अमेरिकामा आयोनीक फाइभको सुरुवाती मूल्य ३५ हजार डलर भएको छ । यसको बडी डिजाइन, फास्ट चार्जिङ क्षमता र लङ रेन्जको कारण यसलाई ‘भ्यालू फर मनी’ क्रसओभर भनिन्छ । अब आयोनीक फाइभको टप भेरियन्टनै ४३ हजार ३०० डलरमा उपभोक्ताले पाउने छन् ।

सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिने हुन्डाई आयोनीक फाइभ प्रतिस्पर्धी टेस्ला मोडल थ्री, टोयोटा बीजेड, फोर्ड मस्टाङ म्याक ई र फक्सवागेन आइडी फोरभन्दा सस्तो भएको छ ।


Back_to_top