देशका ९ मुख्य सडकखण्ड अझै बन्द, कुन कहाँ ?

काठमाडौं । बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्गको ९ ठाउँमा सडक पूर्ण रूपमा बन्द रहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेसम्म कोशी, बागमती र कर्णाली प्रदेश ८ जिल्लाको ९ सडकखण्ड अवरुद्ध रहेका हुन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न ठाउँमा बाढीले सडक कटान गर्दा बीपी राजमार्ग, इलामको राजदुवली लगायत स्थानमा अविरल वर्षाका कारण मेची राजमार्ग, हुम्लाको खार्पुनाथ गाउँपालिका कुरिल्लामा र कालिकोटको पचालझारना गाउँपालिका जुगेनीखोलामा पहिरो खस्दा कर्णाली करिडोर पूर्ण रूपमा बन्द रहेको छ ।

पहिरोका कारण अवरुद्ध कोशी लोकमार्ग (संखुवासभा) र कान्ति लोकपथ (मकवानपुर) खण्ड भने एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।


Back_to_top