एनपीएलमा बजाजले तीन खेलाडीलाई मोटरसाइकल दिने

काठमाडौं । बजाज मोटरसाइकल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जोडिएको छ । बजाज एनपीएलको आधिकारिक दुईपाँग्रे पार्टनर बनेको हो ।

बिहीबार बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्दका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बजाजले एनपीएलमा तीन जना खेलाडीलाई पल्सन एन १६० मोटरसाइकल दिने भएको छ । बजाजले प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने, सर्वाधिक रन हान्ने र उदयीमान खेलाडीलाई मोटरसाइल दिने भएको हो ।

साथै, कम्पनीले हरेक खेलमा म्यानअफ दी म्याच हुने खेलाडीलाई पनि पुरस्कार दिने भएको छ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अभिमन्यु गोल्छाले पल्सर मोटरसाइकल सधैं खेलकुद र युवा ऊर्जासँग जोडिएको ब्रान्ड भएको बताए । ‘हामीले विगत १८ वर्षदेखि पल्सर स्पोर्टस अवार्डदेखि ए डिभिजन फुटबल लिग, विभिन्न क्रिकेट लिगहरूमा समेत सहभागीता जनाउँदै आएका छौं,’ गोल्छाले भने ।

सचिव खड्काले मंसिर १ गतेदेखि सुरू हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भइसकेको र पल्सरसँग जोडिन पाउनु सकारात्मक कदम भएको बताए ।


Back_to_top