बीपी राजमार्गमा ५ बजेपछि गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्गमा आज साँझ ५ बजेपछि सवारी साधन चलाउन रोक लगाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीले छुट्टाछुट्टै सूचना जारी गर्दै रातिमा गाडी चलाउन रोक लगाइएको जानकारी गराएका हुन् ।

काभ्रेपलाञ्चोक प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारी संचालनमा रोक लगाएको हो ।

रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी, सिन्धुली प्रशासनले कात्तिक १३ र १४ साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमन संचालनमा रोक लगाएको छ ।

साथै दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सवारी साधन चलाउन रोक लगाउन सक्ने प्रशासनले जनाएको छ ।

वर्षा भइरहेका कारण नदीहरूमा बाढीको बहाव बढ्दा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन दुवै जिल्ला प्रशासनले अनुरोध गरेका छन् ।


Back_to_top