काठमाडौं । झण्डै एक दर्जन बढी ब्राण्डले सन् २०२५ मा ज्यादै न्यून संख्यामा गाडी आयात गरेका छन् । खासगरी महँगा मूल्यका गाडी बिक्री गर्ने कम्पनीहरूको आयात कमजोर भएको हो ।
आयात न्यून रहेका धेरै ब्राण्ड जापानी छन् । इसुजु, माज्दा, सुवारु जस्ता जापानी ब्राण्डका गाडी खासै आयात हुन सकेका छैनन् । सन् २०२५ को जनवरीदेखि अक्टोबर १५ सम्मको आयात तथ्यांक अनुसार सुवारु ८, माज्दा ५ र इसुजुको शून्य युनिट प्यासेन्जर गाडी आयात भएको देखिन्छ ।
त्यस्तै, युरोपियन ब्राण्ड ल्याण्डरोभरका १० युनिट गाडी आयात भएको छ । अउडीले ४ युनिट गाडी आयात गर्दा रेनो, प्यूजो, मर्सिडज जस्ता ब्राण्डको आयात शून्य छ ।
चिनियाँ ब्राण्ड विलिङले ४ युनिट आयात गर्दा अवतारले २०२५ लागेपछि एक युनिट पनि गाडी ल्याएको छैन । होजोन मोटर्सको नेटा ब्राण्डको आयात पनि शून्य रहँदा कोरियन ब्राण्ड साङ्योङको आयात पनि शून्य नै छ ।
अमेरिकी ब्राण्ड जीप र फोर्डको आयात ठ्याक्कै उत्ति नै छ । दुवै ब्राण्डले ८/८ युनिट गाडी आयात गरेका छन् । समग्रमा १४ ब्राण्डले साढे ९ महिनामा केबल ३७ युनिट गाडी आयात गरेका छन् ।


