सन् २०२५ को तेस्रो त्रैमासमा धेरै ईभी बेच्ने १० ब्राण्ड

काठमाडौं । सन् २०२५ को तेस्रो त्रैमास (जुलाईदेखि सेप्टेम्बर)सम्मको प्योर इलेक्ट्रीक गाडी बिक्रीमा बीवाइडी र टेस्ला बीच कडा प्रतिस्पर्धा देखिएको छ । तीन महिनाको अवधिमा भएको बिक्रीका आधारमा बीवाइडीको बजार हिस्सा १५.४ प्रतिशत पुगेको हो ।

बीवाइडीको बिक्री सन् २०२५ को दोस्रो त्रैमासको तुलनामा ४.०३ प्रतिशतले गिरावट आएको हो । कम्पनीले तेस्रो त्रैमासमा ५ लाख ८२ हजार ५२२ युनिट प्योर इलेक्ट्रीक कार बिक्री गरेको छ ।

दोस्रो धेरै कार अमेरिकी लग्जरी कार निर्माता टेस्लाले बिक्री गरेको छ । इलन मस्कको ध्यान टेस्लामा केन्द्रित भएसँगै गाडीको बिक्री र सेयर मूल्य पनि तीव्र गतिमा अगाडि बढेको छ ।

टेस्लाले तेस्रो त्रैमासको बिक्रीमा १३.४ प्रतिशत बजार हिस्सा पुर्याएको छ । कम्पनीले दोस्रो त्रैमासको तुलनामा २९ प्रतिशतले बिक्री बढाएको हो । तेस्रो त्रैमासमा टेस्लाले ४ लाख ९७ हजार ९९ युनिट ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गरेको छ ।

तेस्रोमा अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ कम्पनी एसएआइसी र विलिङ मिलेर स्थापना गरेको विलिङ ब्राण्ड परेको छ । विलिङले तेस्रो त्रैमासमा ६.१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

ब्याट्री इलेक्ट्रीक भेहिकल धेरै बनाउने कम्पनीको सूचीमा जिली चौथो स्थानमा परेको छ । जिलीले तेस्रो त्रैमासमा ६ प्रतिशत बजार हिस्सा आफ्नो बनाउन सफल भएको हो । जिलीले आफ्ना ईभी तीव्र गतिमा बिक्री बढाउन सफल भएको छ ।

बजार हिस्साको आधारमा पाँचौं स्थानमा लीपमोटर परेको छ । सन् २०२५ को तेस्रो त्रैमासमा लीपमोटरको बजार हिस्सा ४.१ प्रतिशत पुगेको छ । छैटौं स्थानमा एक्सपेङ ब्राण्ड छ । उसको बजार हिस्सा ३.१ प्रतिशत रहेको छ ।

बजार हिस्साको आधारमा सातौं स्थानमा युरोपियन कार उत्पादक कम्पनी फक्सवागेन परेको छ । उसले तेस्रो त्रैमासमा २.९ प्रतिशत बजार लिँदा आठौं स्थानमा रहेको साओमीको बजार हिस्सा २.९ प्रतिशत पुगेको हो ।

बजार हिस्साको आधारमा नवौं र दशौँ स्थानमा कोरियन कार उत्पादक हुडाई र जर्मनीको प्रिमियम लग्जरी कार उत्पादक बीएमडब्लू छन् । यी दुवै ब्राण्डको बजार हिस्सा लगभग बराबर छ । यी दुवैले करिब २ प्रतिशत बजार आफ्नो बनाएका छन् ।

प्लगइन हाइब्रिडमा पनि बीवाइडी अगाडि छ । उसलाई अन्य चिनियाँ ब्राण्डहरू आइतो, चेरी, जिली जस्ता ब्राण्डले निकै पछाडि रहेर पछ्याइरहेका छन् ।


Back_to_top