सरकारी सवारी साधनको व्यापक दुरुपयोग, बिहेदेखि घुमघाममा समेत प्रयोग

सांकेतिक तस्बिर

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी सवारी साधनको व्यापक दुरुपयोग गरेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ‘हेलो सरकार’ मार्फत प्राप्त उजुरीमा जनप्रतिनिधि र कर्मचारीले आफ्नो व्यक्तिगत काममा समेत सरकारी सवारी प्रयोग गर्ने गरेको पाइएको हो ।

प्राप्त उजुरी अनुसार अधिकांश स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले विवाह, व्रतबन्ध, पारिवारिक भ्रमण, निजी काम लगायतमा प्रयोग गरिरहेको पाइएको छ ।

त्यस्तै, मुख्यगरी हिमाली तथा पहाडी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि व्यक्तिगत काममा संघीय राजधानी काठमाडौं आउजाउ गर्न पनि सरकारी सवारी प्रयोग गर्ने गरेको पाइएको छ ।

यसरी व्यक्तिगत कामका लागि सरकारी सवारी प्रयोग गर्दा इन्धन र सवारीको व्यापक दुरुपयोग भएको राष्ट्रिय सतर्कता केन्द्रको ठहर छ ।

उनीहरूले चालकको दैनिक भ्रमण भत्ता। सवारी मर्मत खर्च समेत स्थानीय निकायबाटै भुक्तानी लिने गरेको पाइएको केन्द्रले जनाएको छ ।

स्थानीय निकायहरूमा रहेका बेथितिहरू रोक्न केन्द्रले संघीय मामिला मन्त्रालयलाई निर्देशन समेत दिएको छ । केन्द्रको निर्देशन अनुसार मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सुविधाको सम्बन्धमा प्रचलित कानुनको पूर्ण रूपमा पालना गर्न/गराउन निर्देशन दिएको हाे । मन्त्रालयले यदि कुनै विषयमा कानुन स्पष्ट छैन भने आवश्यक कार्यविधि एवं मापदण्ड बनाएर मात्र सुविधा उपभोग गर्न भनेको छ ।


Back_to_top