काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ वटा सीसीटिभी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ ।
नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सीसीटिभी क्यामराका दृश्यहरू वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्ने गरी राखिएको हो ।
करिब १ करोड रुपैयाँ लगानीमा यी क्यामेराहरू जडान गरिएका हुन् । वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी यो प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइए बताए । उनले वडाको भौगोलिक क्षेत्रभित्रका लागि २०० वटा क्यामरा आवश्यक रहेको र चरणबद्ध रूपमा जडान गरिने बताए ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ ।
महानगरपालिकाले हरेक सीसीटीभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान नेपाल टेलिकमसँग सहकार्य गरेको छ ।

सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार क्यामराले अल्ट्रा एचडी (फोरके ३८४०×२१६०) क्वालिटीका दृश्य खिच्छ । एआइमा आधारित हरेक क्यामरामा ८ वटासम्म सेन्सर जोड्न मिल्छ । यी क्यामराहरू ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् ।
क्यामराका विशेषता बताउँदै खनाल भन्छन्, ‘बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ । पीटीजेड (स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने) क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ ।’
क्यामराबाट सम्बन्धित अधिकारीलाई आवाजसहितको दृश्य, नोटिफिकेसन पठाउन सकिन्छ । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ । यी क्यामराहरू ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका हुन् ।’
यी क्यामराबाट दृश्य मात्र नभइ सहरी अवस्था, चालचलन, आवतजावत, वातावरणलगायत पक्षको तथ्याङ्क पनि दिने भएकोले भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधार दिन सक्छ ।

