काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा प्रदूषण चेकजाँच तीव्र बनाएको छ । प्रहरीले वातावरण विभागसँग सहकार्य गर्दै दैनिक रूपमा उपत्यकाका विभिन्न स्थानका सवारी चेकजाँचलाई तीव्रता दिएको हो ।
हिउँद लागेसँगै उपत्यका लगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रँदै गएको छ । वायु प्रदूषणका मुख्य कारकमध्ये सवारी साधनबाट निस्कने धुँवा पनि एक हो । त्यसैले प्रदूषण नियन्त्रणका लागि ट्राफिकले सडकमै सवारी चेकजाँचलाई तीव्रता दिएको हो ।
सवारी साधनले वार्षिक रूपमा यातायात कार्यालयमा गई नियमित प्रदूषण चेकजाँच गराउनुपर्ने व्यवस्था छ । सडकमा गुड्ने सवारीले फाल्ने धुँवा कस्तो छ भनेर विभाग र ट्राफिक प्रहरीले छड्के चेकजाँचलाई तीव्र पारेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी निरीक्षक) नरेशराज सुवेदी प्रदूषण बढेसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए । यो अभियान निरन्तर संचालन हुने उनले बताए ।
‘पछिल्लो समय उपत्यकामा वायु प्रदूषण निकै बढेको छ । त्यसको एउटा मुख्य कारण सवारी साधन पनि हुन् । हामीले विगतमा पनि नियमित रूपमा सवारी साधनको प्रदूषण चेकजाँच गर्दै आएका थियौं । अहिले तीव्र पारिएको हो । यो अभियान निरन्तर जारी रहन्छ,’ उनले मेरोअटोसँग भने ।
उनले प्रदूषण चेकजाँचमा फेल हुने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने बताए । ऐनको दफा १६४ (१) (च) मा अवस्था ठीक नभएका सवारी साधन चलाउन नहुने व्यवस्था छ । त्यस्ता सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले तत्कालै पहिलोपटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक वा सोभन्दा बढीमा १ हजार ५०० रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।
ट्राफिक प्रहरी बाहेक वातावारण विभागले पनि सवारीको प्रदूषण चेकजाँच गर्दै आएको छ । विभागले ट्राफिकसँग सहकार्य गरेर र आफूले छुट्टै पनि चेकजाँच गर्छ । तर, विभागले भने आर्थिक जरिवाना नगर्ने विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताए । उनले सवारीधनीलाई सवारी मर्मत गरी पुनः चेकजाँचमा ल्याउन निर्देशन दिइने बताए ।
‘वातावरण प्रदूषण बढ्दो छ । त्यसको एउटा कारण सवारी साधन पनि हुन् । प्रदूषण नियन्त्रणका लागि हामीले ट्राफिकसँग सहकार्य गरेर चेकजाँच गर्दै आएका छौं । छुट्टै पनि गर्छौं,’ उनले मेरोअटोसँग भने, ‘संयुक्त चेकजाँचमा ट्राफिकले सवारी ऐन अनुसार जरिवाना तोक्छ । विभागले छुट्टै गर्दा फेल हुने सवारीलाई सर्भिसिङ गरी पुनः चेकजाँचका लागि आउने निर्देशन दिन्छौं ।’

विभागले ३ वर्षअघि प्रदूषण जाँच गर्दा फेल हुने सवारीलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाखसम्म जरिवाना गर्ने सूचना प्रकाशित गरेको थियो । तर, उक्त व्यवस्था विरुद्ध मुद्दा परेपछि अदालतले स्पष्ट कानुनी व्यवस्था नरहेको भन्दै जरिवाना लिन नपाउने आदेश दिएको थियो । अहिले उक्त व्यवस्था कार्यान्वयनमा नरहेको महानिर्देशक सुवेदीले बताए ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ । साथै, यसले सवारी दुर्घटनाको जोखिम समेत बढाउँछ ।
अधिकांश सवारी मापदण्ड विपरीत
चेकजाँचका क्रममा उपत्यकामा गुड्ने अधिकांश सवारी मापदण्ड विपरीत संचालन भइरहेको पाइएको छ । गत साता संयुक्त टोलीले थानकोट क्षेत्रमा ६० सवारी साधनको प्रदूषण चेकजाँच गरेको थियो । सो मध्ये ४० वटा सवारी फेल भएका थिए ।
त्यस्तै, कीर्तिपुरमा ५९ वटा गाडी चेक गर्दा ५० वटा मापदण्ड विपरीत संचालन भएको पाइएको थियो । यस साता ट्राफिकले एयरपोर्ट गेट अगाडि ५० बढी सवारीको चेकजाँच गर्दा ३२ वटा प्रदूषण जाँचमा फेल भएका थिए ।
कसरी मापन हुन्छ प्रदूषण ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा को दफा २३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यकामा चल्ने सवारी साधनका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको छ ।
पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधनलाई छुट्टाछुट्टै वर्गमा राखी उत्पादन वर्षका आधारमा प्रदूषण मापदण्ड तोकिएको छ । इमिसन टेस्टिङ मेसिन मार्फत प्रदूषण चेकजाँच गरिन्छ ।
पेट्रोलबाट चल्ने : सन् १९८० सम्म उत्पादन भएका चारपाँग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीनपाँग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुईपाँग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
डिजेलबाट चल्ने : सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।
सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयू) हुनुपर्छ ।
त्यस्तै, ग्याँस (एलपीजी वा सीएनजी) बाट चल्ने सबै प्रकारका सवारी साधनहरूबाट निस्कने धुवाँमा कार्बन मोनोअक्साइडको मात्रा बढिमा ३ प्रतिशत तोकिएको छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अंक देखियो भने प्रदूषण मापदण्ड उल्लंघन गरेको ठहरिन्छ ।

