काठमाडौं । चिनियाँ ब्राण्ड जिलीले ग्यालेक्सी सिरिजमा नयाँ इलेक्ट्रीक मोडल थप गरेको छ । कम्पनीले ‘स्टारशिप सेभेन’ एसयूभीको इलेक्ट्रीक भर्सन ल्याएको हो ।
अहिले प्रदर्शनी गरिएको स्टारशिप सेभेन यसअघि हाइब्रिड इन्जिनमा भने उपलब्ध थियो । त्यसलाई ग्यालेक्सी सिरिजमा राखेर नयाँ प्योर इलेक्ट्रीक एसयूभीको रूपमा स्टारशिप सेभेन बजारमा ल्याएको हो ।
चिनियाँ उत्पादकले यसको बिक्री भने थालेको छैन । ४७४० एमएम लामो स्टारशिप सेभेन यसअघि बिक्री हुँदै आएको ईएक्स फाइभभन्दा केही ठूलो छ । सम्भवतः स्टारशिप सेभेनको मूल्य पनि ईएक्स फाइभभन्दा केही बढी नै हुनेछ ।
नयाँ स्टारशिप सेभेन मोडलको चौडाइ १९०५ एमएम र उचाइ १६८५ एमएम छ । यसमा ह्वीलबेस भने २७५५ एमएम लामो छ । निकै एरोडाइनामिक डिजाइनमा बनेको कारण यसको ड्रायग कोफिसियन्ट ०.२७८ सीडी मात्रै छ ।
क्लोजअफ फ्रन्ट ग्रिलमा तयार भएको स्टारशिप सेभेनको साइड बढी पनि निकै आकर्षक देखिन्छ । साथै, वारपार जोडिएको डे टाइम रनिङ लाइट, १९ इन्चको ह्वील र पछाडि पनि दुई भागलाई जोड्ने वारपार टेललाइट दिइएको छ ।
फ्लाइमी अटोले विकास गरेको सफ्टवेयर सहितको इन्फोटेन्टमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर यसमा रहेको छ । साथै, म्युजिक सिस्टम पनि फ्लाइमीकै पाउन सकिन्छ ।
कम्पनीले यसलाई फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटरमा ल्याउने जनाएको छ । यसमा रहेको मोटर र ब्याट्री साइज सार्वजनिक भएको छैन । तर, सिंगल चार्जमा सीएलटीसी साइकल अनुसार ६०५ किलोमिटर रेन्ज दिने बताइएको छ । सम्भवतः यसमा ६८ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ ।

