सेग्मेन्टकै पावरफुल मोटरमा नेपाल आयो ‘एमजी एस सिक्स’

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सको नयाँ एसयूभी ‘एमजी एस सिक्स’ नेपाल आएको छ । कम्पनीले अबको केही दिन भित्रै बिक्री थाल्ने अनुमान गरिएको एस सिक्स सेग्मेन्टमै सबैभन्दा पावरफुल मोटरको साथ नेपाल आउन लागेको हो ।

कम्पनीले ल्याएको एस सिक्स ४.७ मिटर सेग्मेन्टमा आउने एसयूभीको प्रतिस्पर्धा लीपमोटर सी-१०, बीवाइडी सिलायन सेभेन, दीपल एस-०७, जेको जे सिक्स टी जस्ता मोडलसँग हुनेछ । माथि चर्चा गरिएका एसयूभीभन्दा एमजी एस सिक्स निकै पावरफुल मोटरमा नेपालमा बिक्री हुने भएको हो ।

कम्पनी स्रोतका अनुसार १८० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा एस सिक्स नेपाल आएको छ । यसका अन्य प्रतिस्पर्धी लीपमोटर सी-१० मा १६० किलोवाटको मोटर छ । जेको जे सिक्स टीमा १३५ किलोवाट, बीवाइडी सिलायन सेभेनमा १०० किलोवाट र दीपल एस-०७ मा ९९ किलोवाटको मोटर छ । त्यसैले एमजी सिक्स सेग्मेन्टकै पावरफुल एसयूभी भएको छ ।

पावरसँगै एमजी एस सिक्स रेन्जको कारण पनि चर्चामा रहेको मोडल हो । अन्य प्रतिस्पर्धी मोडलभन्दा यसमा ब्याट्री साइज पनि ठूलो छ । कम्पनीले यसमा ७७ किलोवाट आवरको विशाल साइजको एलएफपी ब्याट्री दिएको छ । यसमो डब्लूएलटीपी रेन्ज नै ५३० किलोमिटर बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एमजीले आफ्नो नयाँ एसयूभी रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ मोटरमा उपलब्ध गराएको छ । नेपाली बजारमा भने रियर ह्वील ड्राइभमा नै आएको हो ।

ब्याट्री साइजको आधारमा निकै ठूलो एमजी सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।


गाडीको एक्सिलिरेसन पनि तीव्र छ । यसको अल ह्वील भर्सनलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्न केबल ५.१ सेकेण्ड लाग्छ भने रियर ह्वील ड्राइभ भर्सनलाई ७.३ सेकेण्ड मात्रै लाग्छ ।

एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।

बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ । ठ्याक्कैभन्दा एमजी सिक्स एक ‘प्रोपर’ एसयूभी हो ।


Back_to_top