सोलिड स्टेड ब्याट्रीमा सार्वजनिक सुनुवाई गर्दै चीन, दियो दुई महिनाको समय

काठमाडौं । चीन सरकारले ब्याट्रीमा सबैभन्दा नयाँ टेक्नोलोजी सोलिड स्टेटका बारेमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । सरकारले आगामी फेब्रुअरी २८, २०२६ सम्म उक्त ब्याट्रीमा सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

आगामी दुई वर्ष भित्र सोलिड स्टेट ब्याट्री ठूलो परिमाणमा उत्पादन हुने बताउँदै सरकारले उक्त ब्याट्री बारे सार्वजनिक चासोका विषय सुन्न लागेको हो ।

डिसेम्बर ३० तारिखबाटै चीनको राष्ट्रिय प्राविधिक अटो मानकीकरण समितिले सोलिड स्टेट ब्याट्रीको मस्यौदा बाहिर ल्यायो । पहिलो भाग भन्दै सार्वजनिक मस्यौदामा ‘सर्तहरू र वर्गीकरण’ जारी गरेको छ ।

उक्त मस्यौदामा ब्याट्रीको लागि शब्दावली, वर्गीकरण र कोडिङ जस्ता आधारभूत पक्षहरू समेटिएको छ । अब २८ फेब्रुअरीसम्म त्यसमाथि टिप्पणी दिइने समितिले जनाएको छ ।

मस्यौदामा ब्याट्री सेल भित्र आयन ढुवानीको विधिलाई आधार मानेर लिक्विड ब्याट्री, हाइब्रिड सोलिड लिक्विड ब्याट्री र सोलिड स्टेट ब्याट्री नामाकरण गरिएको छ । तर, सोलिड स्टेट बाहेक अन्यलाई उक्त समूहबाट अलग गरिएको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

यसअघि पनि चीन सरकारले हाइब्रिड सोलिड स्टेट वा सेमी सोलिड स्टेट ब्याट्रीलाई मस्यौदामा नराख्ने समाचारहरू आएका थिए ।


Back_to_top