मोटर बीमा गराउने बढे, ६ महिनामै खर्चिए ८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा मोटर बीमा गराउने सखंया बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा चालु आवको ६ महिना (साउन-पुस)मा मोटर बीमा पोलिसी संख्या ३.३९ प्रतिशतले बढेको हो ।

चालु आवको पुससम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ लाख ११ हजार ६६ वटा मोटर बीमा पोलिसी जारी गरेका हुन् । यो गत वर्ष सोही अवधिको तुलनामा २६ हजार ६२२ वटा धेरै हो । गत आवको पुससम्म कुल ७ लाख ८४ हजार ४४४ वटा मोटर बीमा पोलिसी जारी भएका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । आन्दोलनका क्रममा साढे १२ हजार सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए । तर, सबै सवारीको बीमा नहुँदा २ हजार ३०० वटाले मात्र क्षतिपूर्ति दाबी गरेका छन् । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी केही सचेत भई बीमा गराउन थालेको तथ्यांक बीमकहरू बताउँछन् ।

चालु आवमा पोलिसी संख्या मात्र नभई मोटर बीमा गराउन खर्चिने रकम पनि ह्वात्तै बढेको छ । ६ महिनामै सवारीधनीले आफ्नो साधन बीमा गर्नका लागि ८ अर्ब रुपैयाँ बढी खर्चिएका छन् ।

६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत ८ अर्ब १ करोड ४५ लाख ८४ रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म मोटर बीमाबाट ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।

कुन प्रदेशमा कति ?

६ महिनामा सबैभन्दा धेरै बागमती प्रदेशमा ३ लाख ९१ हजार ३३७ वटा मोटर बीमा पोलिसी जारी भएको छ ।

त्यस्तै, कोशीमा ९० हजार ४४८, मधेशमा ६० हजार ४५६, गण्डकीमा ९० हजार ७१८, लुम्बिनीमा १ लाख २३ हजार ८४६, कर्णालीमा १३ हजार ३९७ वटा र सुदूरपश्चिममा ४० हजार ८५५ वटा मोटर बीमा पोलिसी जारी भएको प्राधिकरणको तथ्यांक छ ।


Back_to_top