साढे ७ करोडमा बन्दै गरेको मोटरेबल पुल भाँचियो

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नम्बर ५ र ६ जोड्ने नेरुवा खोलामा निर्माणाधीन मोटरेबल पुल भाँचिएको छ ।

मंगलबार वर्षापछि नेरुवा खोलामा आएको बाढीका कारण निर्माणाधीन उक्त पुल भाँचिएको हो ।

प्रि–स्ट्रेस प्रविधिमा निर्माण भइरहेको ३५ मिटर लामो पुल अन्तिम चरणमा पुगेको थियो । करिब २ साता अघि मात्रै यो पुलको ढलान गरिएको थियो ।

पूर्वाधार विकास कार्यालय ताप्लेजुङले निर्माणाधीन पुलको टेका (स्काफोल्डर) बाढीले बगाउँदा पुल भाँचिएको जनाएकाे छ । अन्तिम चरणमा पुगेको पुल भाँचिँदा करोडौं रुपैयाँ नोक्सानी भएको छ । यो पुल चालु आव भित्रै सम्पन्न गर्ने लक्ष्य थियो ।

यो पुल निर्माणको ठेक्का सञ्जिव निर्माण सेवा, फिदिम पाँचथरले ७ करोड ४७ लाख रुपैयाँमा पाएको थियो ।


Back_to_top