अब पठाओबाटै हेलिकप्टर बुकिङ गर्न मिल्ने

काठमाडौं । अब राइड सेयरिङ कम्पनी पठाओको एपबाटै हेलिकप्टर बुकिङ गर्न मिल्ने भएको छ । पठाओले आफ्नो सेवा विस्तार गर्दै अब पठाओ मोबाइल एप वा बेवसाइट मार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने व्यवस्था सुरु गरेको हो ।

पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा पठाओ हेलीको सुरुवात गरेको हो। राइड सेयरिङबाट सुरू भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ।

अब यात्रुले पठाओ एप अथवा पठाओ हेलीको बेवसाइट पठाओ हेली डट कममार्फत मूल्य निर्धारणसहित सहज रूपमा हेली बुक गर्न सक्नेछन्।

कम्पनीका अनुसार मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविर लगायतका धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सकिनेछ।

एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन्। तीर्थयात्रा, नव विवाहित दम्पतीका लागि रमणिय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाओ हेली उपयुक्त हुने कम्पनीले जनाएको छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु कम्पनीको लक्ष्य रहेको बताए ।

‘नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु हाम्रो लक्ष्य हो, मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ–कमर्सलाई एकै प्लेटफर्ममा जोड्दै हामी अघि बढिरहेका छौँ,’ उनले भने ।

सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष, २०८५ लाई समेत मध्यनजर गरी पठाओ नेपालले यस्तो सेवा संचालन गरेको कम्पनीले जनाएको छ ।


Back_to_top