काठमाडौं । बजेट अघिको एकसातामै मुस्ताङस्थित कोरला नाकाबाट ६१४ युनिट विद्युतीय सवारी साधन भित्रिएका छन् ।
न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार जेठ ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै ६१४ युनिट ईभी आयात भएको हो ।
भन्सार कार्यालयका प्रमुख विदुर चुँडालले पछिल्लो एक सातामा चीनबाट ६१४ वटा ईभी आयात भएको र ती सबै जाँचपास भइसकेको उनले बताए ।
अझै ठूलो संख्यामा ईभी आउँदै गरेको जानकारी पाए पनि संख्या भने यकिन नभएको उनले बताए । ‘पछिल्लो समय कोरला नाकाहुँदै धमाधम ईभी भित्रिरहेका छन् । जेठको पछिल्लो एकसातामै ६१४ वटाको जाँचपास भइसकेको छ,’ उनले भने । नेपाल भित्रिएका ती गाडी बीवाइडीका रहेको बताइएकाे छ ।
यसअघि चालु आवको पुस मसान्तसम्म २ हजार ३२९ वटा ईभी नेपाल भित्रिएका थिए । त्यसपछि चिसो बढेसँगै कोरलाबाट सवारी आयात रोकिएको थियो । अहिले बजेटको मुखमा फेरि ठूलो संख्यामा भित्रिएका हुन् ।


