हिरोको पहिलो फ्लेक्स फ्युल मोटरसाइकल यही साता आउँदै

काठमाडौं । हिरो मोटोकर्पले उत्पादन गरेको फ्लेक्स फ्युलबाट चल्ने मोटरसाइकल यही साता सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो पहिलो फ्लेक्स फ्युल मोटरसाइकल आगामी जुन ३ (जेठ २० गते) भारतमा सार्वजनिक गर्ने तयारी थालेको हो ।

इथानोलमा आधारित हिरो ब्राण्डको यो नयाँ मोटरसाइकल भारतीय बजारमा उपलब्ध हालसम्मका अधिकांश फ्लेक्स फ्युल दुईपाङ्ग्रे सवारीभन्दा उन्नत किसिमको हुने कम्पनीले बताएको छ ।

हिरोले सार्वजनिक गर्न लागेको फ्लेक्स फ्युल मोटरसाइकल बारे हालसम्म कुनै आधिकारिक विवरण खुलाइएको छैन । तर भारतीय मिडिया रिपोर्ट अनुसार फ्लेक्स फ्युल संस्करणमा हिरो एचएफ डिलक्स र स्प्लेन्डर मध्य कुनै एक हुन सक्ने छ ।

कम्पनीले दुवै मोडलका लागि आवश्यक नियामकीय स्वीकृति प्राप्त गरिसकेको छ । कुन मोडल बजारमा ल्याइने हो भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन ।

साथै, हिरोको नयाँ फ्लेक्स फ्युल मोडल पेट्रोल मिक्स नभई पूरै ई-१०० इन्धन इन्जिन सिस्टममा आउन सक्ने अनुमान गरिएको छ ।

हाल भारतीय बजारमा उपलब्ध सुजुकी जिक्सर एसएफ २५० र होण्डा सीबी ३५० एफ फ्लेक्स फ्युल मोटरसाइकल ई-८५ अर्थात् ८५ प्रतिशत इथानोल र १५ प्रतिशत पेट्रोल मिश्रित इन्धन सिस्टममा संचालन हुन्छन् । तर हिरोको नयाँ उत्पादन भने अझ उच्च इथानोल मिश्रण प्रयोग गर्न सक्षम हुने बताइएको छ ।

भारतमा प्रयोग हुने ई-१०० पूर्ण रूपमा शुद्ध इथानोल भने होइन । यसमा करिब ९३ देखि ९३.५ प्रतिशत इथानोल, ५ प्रतिशत पेट्रोल तथा १.५ देखि २ प्रतिशतसम्म अन्य एडिटिभ र को-सोल्भेन्ट मिसाइएको हुन्छ । यद्यपि, यो अनुपातले पनि नयाँ मोटरसाइकललाई हाल उपलब्ध फ्लेक्स फ्युल मोडलहरूभन्दा एक कदम अगाडि राख्ने देखिएको छ ।

हिरोले नयाँ इथानोल इन्जिनको विकास कार्य राजस्थानको जयपुरस्थित हिरो सेन्टर फर इनोभेसन एण्ड टेक्नोलोजीमा गरिएको हो । उच्च इथानोलयुक्त इन्धनका लागि आवश्यक इन्धन आपूर्ति प्रणाली, चिसो मौसममा स्टार्ट हुने क्षमता, दहन प्रक्रिया तथा दीर्घकालीन टिकाउपनलाई ध्यानमा राखेर इन्जिनलाई विशेष रूपमा विकास गरिएको कम्पनीले जनाएको छ ।

पेट्रोल इन्जिनलाई इथानोलमा चल्ने बनाउनु सामान्य इन्धन परिवर्तन मात्र होइन । इथानोलको रासायनिक गुण पेट्रोलभन्दा फरक हुने भएकाले इन्जिनका विभिन्न भाग, इन्धन प्रणाली तथा इन्जिन म्यापिङमा परिवर्तन आवश्यक पर्छ विभिन्न मौसममा सहज रूपमा स्टार्ट हुन सक्ने प्रविधि पनि महत्वपूर्ण हुन्छ ।


Back_to_top