काठमाडौं । पछिल्लो समय अटोमोबाइल क्षेत्रमा सुनिँदै आइएको शब्द हो, रेन्ज एन्जाइटी । विद्युतीय सवारी साधन प्रयोगकर्ताले यो शब्द निकै प्रयोग गर्छन् ।
नेपालमा विद्युतीय सवारीको प्रयोग ह्वात्तै बढेको छ । ईभी पेनिट्रेसन ७३ प्रतिशत पुगेको छ । ईभीको संख्या बढेसँगै देशका मुख्य राजमार्गहरूमा धमाधम चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । हरेक २०/२५ किमीको अन्तरमा चार्जिङ स्टेसन भेटिन्छ । सामान्य अवस्थामा भने चार्जिङका लागि चिन्ता गर्नु पर्दैन । खाना/खाजा खाने समयमै पर्याप्त चार्ज गर्न सकिन्छ ।
यद्यपि, अहिले देशका जुनसुकै स्थानमा ढुक्कले ईभीमा यात्रा गर्न सक्ने अवस्था भने छैन । पहाडी र हिमाली क्षेत्रको लामो यात्रा गर्दा रेन्जको चिन्ता देखिन्छ । पर्याप्त चार्जिङ स्टेसन छैनन् । चाडवाडको बेलामा हाइवेमा चार्ज गर्र्नैका लागि लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।
प्रविधिमा भएको विकासले चार्जिङ चिन्ता हटाउँदै लगेको छ । तेलभर्नभन्दा छिटो चार्ज हुने प्रविधि विकास भइसकेको छ । विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीले कार चालकलाई नै अचिम्मत पार्ने चार्जिङ प्रविधि प्रयोगमा ल्याएको छ । जुन, हालैको चीन भ्रमणका क्रममा प्रत्यक्ष अनुभव गरियो ।
बीवाइीले तयार पारेको सुपर ई प्लेटर्फम अन्तर्गतको फ्ल्यास चार्जिङ सिस्टमबाट अहिले काठमाडौंमा कुनै पनि पेट्रोल पम्पमा गएर कारमा पेट्रोल भर्न लाग्ने समयभन्दा पनि छिटो चार्ज गर्न सकिन्छ ।
विश्वकै अग्रणी इलेक्ट्रीक कार निर्माता बीवाइडीले तयार पारेको फ्ल्यास चार्जरले ५ मिनेट चार्ज गर्दा मात्र ४०० किलोमिटर रेन्ज थप्न सक्ने रहेछ । अर्थात् १ सेकेण्ड मात्रै चार्ज गर्दा २ किमी यात्रा गर्न रेन्ज दिने गरी ब्याट्री चार्ज गर्न सकिन्छ ।
उक्त चार्जिङ स्टेशनमा केबल ७ देखि ९ मिनेटमै १० प्रशितशदेखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो सिस्टमा १ हजार भोल्ट हाइ भोल्टेज आर्किटेक्चर, नयाँ पुस्ताको ब्लेड ब्याट्री प्रविधि र १५०० एम्पियरसम्मको चार्जिङ करेन्ट सपोर्ट गर्ने क्षमता समावेश छ ।

यसरी उच्च करेन्टमा चार्ज गर्दा निरन्तर उच्च पावर आउटपुट कायम राख्न र ओभरहिट हुन नदिन चार्जिङ गन र चार्जिङ टर्मिनल दुवैमा लिक्विड कुलिङ प्रविधिको प्रयोग गरिएको छ । यसमा सिंगल गन र डबल गन दुवै प्रविधि प्रयोग गरिएको छ । डबल गन प्रयोग भएको स्टेशनमा एउटा ४०० किलोवाट र अर्को १.५ मेगावाट क्षमताको गन उपलब्ध छ ।
बीवाइडीले मेगावाट फ्ल्यास चार्चिङ पाइलमा ‘पिक सेभिङ भ्याली फिलिङ’ अवधारणा पनि ल्याएको छ । यसमा बिजुली खेर जाने समयमा स्टोर गर्ने र पिक समयमा उक्त बिजुलीको प्रयोग गरेर चार्ज गर्न सकिन्छ ।
यो हाल विश्वमै प्रयोगमा आएको सबैभन्दा छिटो ईभी चार्ज गर्ने प्रविधि हो । बीवाडीले तयार पारेको यो चार्जरको डिजाइन परम्परागत चार्जरकोभन्दा निकै फरक छ । टी आकारमा यसको डिजाइन गरिएको छ । यसमा नयाँ के छ भने यसको चार्जिङ केबल माथि झुन्डिएर बसेको हुन्छ । यसले गाडीमा चार्जिङ पोर्ट जुनै साइडमा भए पनि स्लाइड गरेर सहजै चार्ज गर्न सकिन्छ ।
यो डिजाइनले चार्जिङ केबल छोटो हुने वा भुइँमा लत्रिने समस्याको पनि समाधान गरेको देखियो । बीवाइडीले फ्ल्यास चार्जिङ स्टेशन आक्रामक रूपमा विस्तार गर्ने योजना भएको बताएको छ । हालसम्म ५ हजार बढी फ्ल्यास चार्जिङ स्टेशन निर्माण गरिसकेको छ भने २०२६ को अन्त्यसम्ममा २० हजार पुर्याउने लक्ष्य राखेको छ ।
बीवाइडीका अनुसार यस्तो चार्जिङ स्टेशनमा जुनसुकै ब्राण्डको गाडी पनि चार्ज गर्न सकिन्छ । यो चार्जिङ सिस्टम बीवाइडीले हाल चीन र युरोपमा केही मुलुकमा प्रयोग गरिरहेको छ । निकट भविष्यमै विश्वव्यापी रूपमा विस्तार गर्ने उसको योजना छ ।
बीवाइडी फ्ल्यास चार्जिङ निकै प्रभावकारी हुने देखिएको छ । चीनमा माइनस ३० डिग्री चिसोमा समेत फ्ल्यास चार्जरको प्रयोग गरेर गाडी चार्ज गरेको प्रत्यक्ष देखियो । जहाँ १० प्रतिशत देखि ९७ प्रतिशत चार्ज गर्न केबल १२ मिनेट मात्र लागेको थियो । त्यसैले यो प्रविधि नेपाल जस्तो उच्च पहाडी भूगोलका लागि उपयुक्त र भरपर्दो देखिन्छ ।
नेपालको मनाङ मुस्ताङ, हुम्ला, जुम्ला लगायत उच्च हिमाली क्षेत्रमा समेत फ्ल्यास चार्जरको प्रयोग गरेर ईभी चार्ज गर्न सकिन्छ । यद्यपि, नेपालमा भरपर्दो विद्युत् सेवा नभएको र निर्माण लागत समेत धेरै भएकाले केही चुनौती देखिन्छ ।
बीवाइडी नेपालमा सर्वाधिक बिक्री हुने ईभी ब्राण्ड हो । कम्पनीले नेपाल आउने एटो थ्रीमा फ्ल्यास चार्जिङ सिस्टम राखिसकेको छ । अन्य मोडलमा पनि क्रमशः राख्दै जानेछ । फ्ल्यास चार्जिङ सपोर्ट गर्ने गाडी नेपाल आउने भएपछि कम्पनीले नेपालमा पनि निकटै भविष्यमै यस्तो चार्जिङ स्टेसन निर्माण गर्ने सम्भावना देखिन्छ । जसले प्रयोगकर्ताको रेन्ज एन्जाटी सधैंका लागि हटाउने निश्चित छ ।


