१५ दिनपछि लन्च हुँदै बीवाइडीको माइक्रोकार, रेन्ज ३२० किमी

काठमाडौं । विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीले दुई सातापछि आफ्नो नयाँ इलेक्ट्रीक माइक्रोकार ‘राक्को’ लन्च गर्ने भएको छ । कम्पनीले जुलाई २८ मा जापानमा राइड ह्याण्ड ड्राइभ राक्को आधिकारिक रुपमा बिक्री सुरू गर्ने भएको हो ।

जापानको निकै लोकप्रिय र सुरक्षित मानिने घरेलु ‘के कार’ सेगमेन्टलाई सिधा चुनौती दिने गरी बीवाइडीले यो मोडल बजारमा उतार्न लागेको हो।

गाडी सार्वजनिक हुनुअघि नै उपभोक्ताहरूलाई आकर्षित गर्न कम्पनीले तीव्र प्रचारप्रसार सुरू गरिसकेको छ। जापानी अभिनेत्री एलिस हिरोसेलाई फिचर गर्दै ‘राक्को राकु’ स्लोगन साथ क्षेत्रीय टेलिभिजन च्यानलहरूमा संचालित मिडिया क्याम्पेनले यतिबेला त्यहाँ निकै चर्चा बटुलिरहेको छ।

शहरी र अर्ध शहरी क्षेत्रका दैनिक यात्रीहरूलाई लक्षित गरी तयार पारिएको यो कार निकै आकर्षक छ । यसको लम्बाइ ३,३९५ एमएम, चौडाइ १,४७५ एमएम र उचाइ १,८०० एमएम रहेको छ। यसको ह्वीलबेस २,५२० एमएम छ।

बीवाइडीको चर्चित सिलायन ६ क्रसओभर प्लेटफर्ममा आधारित यो माइक्रोकारको इन्टेरियर निकै फराकिलो र आरामदायी बनाइएको छ । यसको क्याबिनमा डिजिटल एनएफसी की, जाडो महिनाका लागि अटोमेटिक ब्याट्री प्रिटिङ प्रविधि र हिटेड कप होल्डर जस्ता प्रिमियम सुविधाहरू छन् ।

राक्को ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा २२.४ किलोवाट आवर र ३५.४८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २०० र ३०० किमी डब्लूएलटीसी रेन्ज दिन्छ ।

यो गाडीले ५० किलोवासम्मको फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ । जसले सार्वजनिक चार्जिङ स्टेशनहरूमा गाडीलाई निकै चाँडो चार्ज गर्न मद्दत गर्दछ।

बीवाइडीको यो विल्कुलै नयाँ इलेक्ट्रीक माइक्रोकारले यस सेगमेन्टमै उत्कृष्ट ३२० किलोमिटरको रेन्ज र स्लाइडिङ डोर का साथ जापानका घरेलु स्थापित कम्पनीहरूलाई चुनौती दिनेछ । यसले होण्डाको एन वान ई, सुजुकीको साकुरा जस्ता कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

बीवाइडीले सुरूमा यो कार करिब ८,८२० डलरमै बिक्री गर्ने आक्रमक लक्ष्य राखेको थियो । तर, नियामकीय हस्तक्षेपका कारण मूल्य संरचना परिवर्तन गर्नुपरेको छ । कम्पनीले हाल यसको बेस भेरियन्टको मूल्य १७ हजार ७०० अमेरिकी डलर कायम गरेको छ ।

यो कार व्यक्तिगत प्रयोगका लागि मात्र नभई सामान डेलिभरीका लागि पनि उत्तिकै उपयोगी छ । यसको पछाडिको सिटलाई पूर्ण रूपमा फ्ल्याट हुने गरी पट्याउन सकिन्छ । जसले गर्दा १,३७२ लिटरको ठूलो कार्गो स्पेस प्राप्त हुन्छ।


Back_to_top