काठमाडौं । होण्डा इन्डियाले अब प्रिमियम सेग्मेन्टमा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भएको छ ।
कम्पनीले आफ्नो उपस्थिति अझै मजबुत बनाउन आगामी दिनमा प्रिमियम स्कुटर, मिड क्यापासिटी मोटरसाइकल र विद्युतीय दुईपाँग्रे सवारीको दायरा विस्तार गर्ने घोषणा गरेको हो ।
हालसम्म होण्डाको भारतीय बजार मुख्यतः कम्प्युटर सेग्मेन्टका मोटरसाइकल र स्कुटरमा केन्द्रित थियो । बदलिँदो बजार र युवा पुस्ताको रोजाइलाई ध्यानमा राख्दै कम्पनीले अब डिजाइन, प्रविधि र विश्वव्यापी उत्पादनलाई प्राथमिकता दिने रणनीति अपनाउने जनाएको हो ।
होण्डा इन्डियाका अध्यक्ष तथा सीईओ सुत्सुमु ओटानीका अनुसार अहिलेका ग्राहक विशेषगरी जेनजी र जेन अल्फा केवल भारतमा उपलब्ध मोडल मात्र तुलना गर्दैनन् । उनीहरूले स्मार्टफोन र इन्टरनेटमार्फत एसिया, युरोप र अमेरिकामा उपलब्ध मोडलसमेत अध्ययन गरेर खरिद निर्णय लिने गरेका छन् ।
उनका अनुसार कम्पनीको लक्ष्य केवल नयाँ ग्राहक थप्नु मात्र होइन । ग्राहकको आवश्यकता र रुचि परिवर्तन हुँदै जाँदा पनि उनीहरूलाई होण्डा ब्राण्डमै कायम राख्नु हो । हाम्रो लागि केवल बजार हिस्सा बढाउनु महत्वपूर्ण होइन । ग्राहकले दोस्रो वा तेस्रो सवारी खरिद गर्दा पनि होण्डालाई नै रोजुन् भन्ने हाम्रो उद्देश्य हो ।
होण्डाले आफ्नो विश्वव्यापी उत्पादन लाइनअपबाट नयाँ प्रिमियम मोडल भारतमा ल्याउने तयारी गरिरहेको छ । तर ती उत्पादनलाई भारतीय बजारअनुसार प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन लोकलाइजेसनलाई उच्च प्राथमिकता दिइने कम्पनीको भनाइ छ ।
साथै, कुनै पनि विश्वव्यापी मोडल भारतमा ल्याउनुअघि त्यसका प्रमुख कम्पोनेन्ट तथा उत्पादन प्रक्रियालाई स्थानीयकरण गरिनेछ । जसले लागत घटाउनुका साथै घरेलु उत्पादनलाई पनि बल पुर्याउनेछ ।
यद्यपि, कम्पनीले कुन मोडल कहिले सार्वजनिक हुन्छ भन्ने खुलाएको छैन । तर भारतीय संचारमाध्यमका अनुसार होण्डा इन्डियाले हाल १२५ सीसी, १५० सीसी मोटरसाइकल, नयाँ स्कुटर, इलेक्ट्रीक स्कुटर, ३५० सीसी तथा ५०० सीसी सेग्मेन्टमा मोटरसाइकल विकास गरिरहेको छ ।
होण्डाले अब भारतलाई उत्पादन विकासको केन्द्रका रूपमा पनि अघि बढाउने भएको छ । कम्पनीले अनुसन्धान तथा विकास (आर एण्ड डी) प्रक्रियामा परिवर्तन गर्दै भारतमै डिजाइन र विकास गर्ने क्षमता विस्तार गरिरहेको जनाएको छ ।


