५ वर्ष भित्रै टोयोटालाई उछिन्ने बीवाइडीको योजना

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक चिनियाँ ब्राण्ड बीवाइडीले आगामी ५ वर्ष भित्रै जापानी ब्राण्ड टोयोटालाई उछिन्ने लक्ष्य राखेको छ ।

बीवाइडीले अमेरिकी प्रतिबन्धका बाबजूद ५ वर्ष भित्र हालको विश्वकै सबैभन्दा ठूलो ब्राण्ड टोयोटालाई पछि पार्ने लक्ष्य राखेको हो ।

बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले अमेरिकी बजारमा पहुँच नभए पनि आगामी ५ वर्षभित्र बिक्रीका आधारमा टोयोटालाई पछि पार्ने अपेक्षा गरिएको बताएकी छिन् ।

उपाध्यक्ष लीले बीवाइडीले कुल १ करोड ७० लाख एनईभी उत्पादनको आँकडा पूरा गरेपछि यस्तो अभिव्यक्ति दिएकी हुन् । बीवाइडीले युरोप, ल्याटिन अमेरिका, दक्षिण पूर्वी एसिया र अष्ट्रेलियालाई लक्षित गर्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति द्रुत गतिमा बढाइरहेको उक्त लक्ष्य भेटाउने उनले बताइन् ।

उनले ‘फाइनान्सियल टाइम्स’सँग कुरा गर्दै बीवाइडीले स्वभाविक वृद्धिका आधारमा उक्त लक्ष्य तय गरेको बताइन्। कार्यकारी उपाध्यक्ष लीले चीनमा बनेका कारहरूमा उच्च भन्सार शुल्क लगाएको अमेरिकी बजारमा भर नपरीकन पनि यो नतिजा हासिल गर्न सकिनेमा जोड दिइन्।

बीवाइडीले टोयोटाको शीर्ष स्थान खोस्नका लागि अन्य कार निर्माता कम्पनीहरू खरिद गरिरहनु आवश्यक नरहेको समेत स्पष्ट पारिन् । यद्यपि, भविष्यमा युरोपेली लग्जरी ब्राण्डहरू खरिद गर्ने सम्भावनालाई भने नकार्न नसकिने उनले बताइन् । तर हालका लागि त्यस्ता कुनै ठोस खरिद योजना नभएको उनको भनाइ छ ।

गत महिना बीवाइडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफुले पनि ५ वर्ष भित्रै टोयोटालाई उछिनेर विश्वकै सबैभन्दा बढी बिक्री हुने सवारी निर्माता बन्ने योजना घोषणा गरेका थिए। कम्पनीका प्रमुखका अनुसार चार्जिङ प्रविधिको द्रुत विकास र विश्व बजारमा हुने निर्यातको तीव्र वृद्धिको मद्दतले यो नतिजा हासिल गर्न सकिनेछ ।

कम्पनीले हालैका वर्षहरूमा आफ्नो उत्पादनको तीव्र गतिमा बढाएको छ । मे २०२१ मा बीवाइडीको १० लाख एनईभी उत्पादन पूरा गरेको बीवाइडीले नोभेम्बर २०२४ मा १ करोडयुनिट पूरा गरेको थियो । पछिल्लो ६ महिनामै कम्पनीले २० लाख युनिट उत्पादन गर्दै १ करोड ७० लाखको माइलस्टोन पूरा गरेको हो ।

‘चाइना इभी डाटाट्र्याकर’का अनुसार कम्पनीले वैदेशिक बिक्रीलाई प्राथमिकता दिन थालेपछि मेमा लगातार ८ महिनाको बिक्रीको गिरावट अन्त्य भएको छ । सन् २०२६ को पहिलो ६ महिनामा बीवाइडीले विश्वभर १७ लाख ७७ हजार ३२१ युनिट कार बिक्री गरेको छ । कम्पनीको घरेलु बजारमा बिक्री ४५.९ प्रतिशतले घटे पनि आगामी ६ महिनामा हुने निर्यातले त्यसलाई पूर्ति गर्ने कम्पनीको भनाइ छ ।

बीवाइडीले सन् २०२५ मा विश्वभर ४५ लाख ५० हजार कार बिक्री गरेको थियो । टोयोटाले (दाइहात्सु र हाइनो बाहेक) १ करोड ५ लाख युनिट बिक्री गरेको थियो ।


Back_to_top