काठमाडौं । रसुवा भन्सार बिन्दु हुँदै आयातका लागि कागजात जारी भइसकेका विद्युतीय सवारी सहित अन्य मालसामान अब वैकल्पिक नाका प्रयोग गरी आयात र जाँचपास गर्न सकिने भएको छ ।
भन्सार विभागले चीनबाट आयातको क्रममा बीच बाटोमै रहेको सामान ल्याउन व्यवसायीहरूलाई सहजीकरण गर्दै भन्सार बिन्दु परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो ।
भदौ १० गते आएको बाढीले रसुवा भन्सार नाका बन्द भएसँगै भन्सार विभागले रसुवाको सट्टा व्यवसायीहरूले वैकल्पिक भन्सार नाका प्रयोग गरी सामान जाँचपास गराउन पाउने व्यवस्था गरेको हो ।
विभागका अनुसार यसअघि रसुवा भन्सार कार्यालय हुँदै सामान आयात गर्न आवश्यक कागजात जारी भई चीन्तर्फ बाटोमै रोकिएका सामानहरू अब वैकल्पिक नाकाबाट भन्सार जाँचपास गर्न सकिने भएको हो ।
आयातकर्ताले सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा आफूले चाहेको नयाँ भन्सार बिन्दु कायम गरी परिवर्तित नाकाबाटै सामान घोषणा र जाँचपास गराउन सक्ने विभागले जनाएको छ ।
‘रसुवा भन्सार कार्यालय हुँदै पैठारी गर्न आवश्यक कागजात जारी भई ढुवानीको क्रममा बाटोमा रहेका वस्तु वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न चाहने पैठारीकर्ताले उल्लेखित प्रयोजनका लागि सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा पैठारी गर्न चाहेको भन्सार बिन्दु कायम गरी परिवर्तित भन्सार विन्दुमा वस्तु घोषणा गरी जाँचपास गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले भनेको छ ।
यो सुविधा प्रतीतपत्र (एलसी), ड्राफ्ट, टीटी लगायतका सबै प्रकारका भुक्तानी माध्यमबाट सामान पैठारी गर्दा लागू हुने विभागले जनाएको छ ।भन्सार बिन्दु परिवर्तन गर्नका लागि व्यापारीहरूले अन्य कुनै निकायको छुट्टै अनुमति वा सिफारिस लिनु नपर्ने विभागले स्पष्ट पारेको छ।
बाढीका कारण बाटोमै रोकिएका सामानहरूलाई यथाशीघ्र गन्तव्यसम्म पुर्याउन र व्यापार सहज बनाउन विभागले यो निर्णय लिएको हो । यससँगै रसुवा नाका हुँदै आयातको क्रममा चीनतर्फ रहेका विद्युतीय सवारीसहित अन्य मालसामान अब कोरला वा तातोपानी नाका हुँदै ल्याउन पाइने भएको छ । यद्यपि, तातोपानी नाका पहिरोका कारण डेढ महिनादेखि बन्द छ ।
साथै, विभागले रसुवा र तातोपानी नाका हुँदै ल्याउन लागिएका सामानहरू मुस्ताङस्थित कोरला नाकाट आयात गर्न अनुरोध गरेको छ । विभागले सहजीकरणका लागि मुस्ताङ भन्सारमा हेल्प डेस्क समेत स्थापना गरेको हो ।
बाढीले नेपाल चीन जोड्ने पुलसँगै दुवै तर्फको सडकमा ठूलो क्षति पुर्याएको छ । नेपालतर्फ मात्रै रसुवागढी पुग्ने ४० किलोमिटर बढी सडक र ४१ वटा पुल बगाएको छ । साथै, रसुवा भन्सार कार्यालय, भन्सार यार्ड पूरै सखाप पारेको छ । क्षतिको एकीन जानकारी आइसकेको छैन । सडक, पुल र भन्सारका अधिकांश संरचना ध्वस्त भएकाले रसुवा भन्सार कहिलेदेखि संचालनमा आउँछ भन्न सक्ने अवस्था छैन ।


