नाडामा बढ्दै अवलोकनकर्ता, नयाँ कार र मोटरसाइकलमा आकर्षण (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा जारी अटो कुम्भमेलाको पाँचौं दिन आज (शनिबार) अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ ।

मंगलबारदेखि सुरू भएको अठारौं संस्करणको नाडा अटो शोमा पहिलो दिन उल्लेख्य सहभागिता थियो । तर, बुधबार भोटेकोशीमा बाढी आएपछि अवलोकनकर्ताको भीड केही कम  भएकाे थियो । तर, हिजोदेखि फेरि बाक्लिँदै गएको हो ।

नाडा अटो शोमा दुईपाँग्रे, प्यासेन्जर कार र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाएका छन् । अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा लगायत कम्पनीहरूको २०० बढी स्टल रहेका छन् ।

यस वर्ष नाडा अटो शोमा दुईपाँग्रे र चारपाँग्रे गरी करिब २ दर्जन् नयाँ मोडलका सवारी लन्च भएका छन् । नाडा मार्फत नै नेपालमा थप आधा दर्जन अटो ब्राण्ड प्रवेश गरेका छन् । दुईपाँग्रे तर्फ नेपालमै उत्पादन पहिलो इलेक्टीक स्कुटर यात्री बजारमा आएको छ । त्यस्तै, मिचे र भिडा ब्राण्ड पनि नयाँ स्कुटर लन्च गरेका छन् ।

चारपाँग्रेतर्फ चिनियाँ ब्राण्ड नेभो, एम-हिरो, ईपाइ नेपालमा उपस्थिति जनाएका छन् । नेभो र एमहिरोले एसयूभी र ईपाइले ००७ सेडान लन्च गरेका हुन् ।

अटो शोमा नयाँसँगै पुराना ब्राण्डले लन्च गरेका नयाँ मोडलमा ग्राहकको उच्च आकर्षण देखिन्छ । मुख्यगरी ३० ५० लाखका कार, नयाँ मोटरसाइकल र स्कुटरमा अवलोकनकर्ताको चासो देखिन्छ । साथै, कम्पनीहरूले दिएको आकर्षक छुटले पनि ग्राहकहरूको ध्यान तानेको देखिन्छ ।

नाडामा चारपाँग्रे ईभीतर्फ नामी भिगो, नामी बक्स, फेसलिफ्ट नेक्सन, पन्च ईभी, बीवाइडी एटो २, जेको जे फाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टीवान, ओरा फाइभ, लीपमोटर बी०३, प्राटोन इमास फाइभ लगायत नयाँ कारको स्टलमा बाक्लो भीड देखिन्छ ।

ईभीको वर्चश्वकै बीच नयाँ सुजुकी ब्रेजा, जिम्नी, अल न्यू हुन्डाई भेन्यु लगायत पेट्रोल कारमा पनि अवलोकर्ताको आकर्षण देखिन्छ ।

दुईपाँग्रेतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर १५५, यामाहा आर १५ मोटरसाइकल, यामाहा फासिनो स्कुटर, अप्रिलिया एसआर १७६, एक्सट्रीम २५० आर लगायत नयाँ मोडल हेर्ने र बुझ्नेको भीड देखिन्छ ।

त्यस्तै, बीएआइसीको बीजे ३० ई, एमहिरो वान, बीवाइडी शार्क जस्ता हाइब्रिडमा चासो राख्नहरू पनि धेरै देखिन्छन् ।


Back_to_top