अपग्रेड भएको ‘सी-१०’ नाडामा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । साँग्रिला मोटर्सले २०२६ मोडल सी-१० एसयूभी नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले नाडा अटो शोको चौथो दिन आज शुक्रबार सी–१० सार्वजनिक गरेको हो ।

नाइमा मोविलिटी एक्स्पोमा आफ्‌नो एसयूभी लाइनअपकै सबैभन्दा सानो मोडल बी-०३ एक्स मोडल बजारमा ल्याएको कम्पनीले नाडा अटो शोमा सी-१० सार्वजनिक गरेको हो । लिपमोटरको सी-१० पहिलो पटक सन् २०२४ मा नेपाल आएको थियो । दुई वर्षपछि अपग्रेड भएर सी-१० बजारमा आएको हो ।

युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टिसको लगानी रहेको चिनियाँ लिपमोटर तिब्र गतिमा बजार बिस्तार गर्दै आएको ब्राण्डमा पर्छ । चीनसँगै युरोपियन बजारमा कम मूल्यको कारण सफलता पाइरहेको सी-१० को अपग्रेड गरिएको मोडल ७५ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेर नेपालमा बिक्री सुरु भएको हो ।

‘गाडीमा केही अपग्रेड भएको छ । वायरलेस एप्पल कार प्लेर एन्ड्रोइड अटो पनि थपिएको छ । सरकारले करको दर फेरवदल गर्दा केही मूल्य बढाउनु परेको हो’, गाडी सार्वजनिक गर्दै साँग्रिल मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।

लीपमोटर सी-१० रियर ह्‌वील ड्राइभमा उपलब्ध एसयूभी हो । यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसमा ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ । सी-१० एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.५ सेकेन्डमा भेट्टाउने छ ।

लीपमोटरले ‘सेल-टु-च्यासिस’ प्रविधिमा तयार पारेको सी-१० एसयूभीको बडी थप बलियो बनेर आएको छ । साथै, केबिन स्पेस बढेको छ भने ह्यान्डलिङ पनि पहिलेभन्दा सुधार भएर आएको कम्पनीको दाबी छ ।

लिपमोटरको सी-१० एसयूभीले अधिकतम ८४ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । करिब ३० मिनेटमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भेहिकल-टु-लोड (भीटूएल) सुविधा उपलब्ध एसयूभी नेपाली सडकको लागि उपयुक्त मोडल हो ।

भित्री भाग सी-१० को प्रमुख आकर्षणमध्ये एक हो । यसमा १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन र पानोरामिक सनरुफ उपलब्ध छ । सबै सिट फोल्ड गर्दा करिब १.८ मिटर लामो समतल स्थान तयार हुन्छ, जहाँ डबल एयरबेड समेत राख्न सकिन्छ ।


Back_to_top